मेस्सी र स्वारेज प्रशिक्षणमा फर्किए : भ्यालेन्सियाविरुद्ध खेल्ने सम्भावना कति ?

एजेन्सी, भदौ २०
स्पेनिस बार्सिलोनाका दुई सुपरस्टार फरवार्ड लिओनल मेस्सी र लुइस स्वारेज प्रशिक्षणमा फर्किएका छन् । यसअघि चोटसँग जुधिरहेका दुवै खेलाडी अघिल्लो दिनबाटै टोलीसँग प्रशिक्षणमा फर्किएका हुन् ।

उनीहरू दुवैजना अहिले अन्तर्राष्ट्रिय ड्युटी नभएका बाँकी खेलाडीसँग प्रशिक्षण गरिरहेका छन् । टोलीका २ जना प्रमुख खेलाडी प्रशिक्षणमा फर्किएसँगै उनीहरूले आगामी खेल खेल्ने सम्भावना बढेको छ ।

यसअघि मेस्सी र स्वारेज दुवै नहुँदा बार्सिलोनाले ला लिगामा कमजोर सुरुआत गरेको छ । ऊ हाल ३ खेलपछि ४ अंक बनाएर आठौं स्थानमा रहेको छ । उसले एक खेल हारेर एक खेल बराबरी गर्दा एक खेल जितेको छ ।

बार्सिलोनाले अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि आगामी खेल सेप्टेम्बर १४ मा भ्यालेन्सियासँग खेल्नेछ । सो खेलमा मेस्सी र स्वारेज दुवैजना खेल्न सक्ने सम्भावना बढेको छ । यदि उनीहरूले सुरआती टोलीबाट नखेले पनि अन्तिम केही समय भए पनि खेलेर पुनरागमन गर्नेछन् ।

प्रकाशित मिति September 6, 2019
Loading...