विश्वकप छनौट : नेपालको खराब प्रदर्शन, कुवेतसँग ७–० ले पराजित

काठमाडौं, भदौ २०
सन् २०२२ को कतार विश्वकपका लागि जारी छनौट खेलमा नेपालले खराब सुरुआत गरेको छ । छनौटमा सोझै दोस्रो चरणमा प्रवेश पाएको नेपाल पहिलो खेलमै अवे मैदानमा कुवेतसँग फराकिलो हारको सिकार भएको छ । बिहीबार राति भएको छनौटको पहिलो खेलमा नेपालमाथि घरेलु टोली कुवेतले ७–० को फराकिलो जित निकाल्यो ।

आफ्नो भूमिमा भएको खेलमा कुवेतले पाहुना टोली नेपाललाई खेलभरि पूर्ण दबाबमा राख्दा नेपाल निरीह देखिएको थियो । ७ गोल खाँदा १ गोल पनि फर्काउन नसकेको नेपालका कुनै पनि फरवार्ड चलेनन् भने नेपालका डिफेन्डर र गोलकिपरलाई कुवेतको आक्रमण रोक्न भ्याइनभ्याई देखिएको थियो ।

कुवेतले नेपालविरुद्ध पहिलो हाफमा २ गोल गर्दा बाँकी ५ गोल दोस्रो हाफमा गरेको थियो । कुवेतले खेल सुरु भएको छैटौं मिनेटमै युसुफ नासिरको गोलबाट अग्रता लिएको थियो । त्यसपछि पहिलो गोल गरेको ७ मिनटमै कुवेतले दोस्रो गोल थप्यो । सो गोल फहाद अल हाजारीले गरेका थिए । २ गोल खाएर चर्को दबाबमा परेको नेपालले कुवेतविरुद्ध पहिलो हाफमा एकपटक पनि आक्रमण गर्न सकेन ।

पहिलो हाफमा दबाबमा परेको नेपाल दोस्रो हाफमा थप दबाबमा देखियो । कमजोर नेपाली डिफेन्सको फाइदा उठाउँदै घरेलु टोलीले गोल थपिरह्यो । दोस्रो हाफ सुरु भएपछि ५०औं मिनेटमा पहिलो गोल गरेका युसुफले नै व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि खेलको ५९औं मिनेटमा अब्दुल्हा मावीले गोल गर्दै नेपालविरुद्ध टिमलाई ४–० को लिड दिए । कुवेत त्यत्तिमै अडिएन । उसका लागि ६७औं मिनेटमा बाडेर अल–मातुवाले गोल गरेपछि कुवेतले खेलमा ५–० को फराकिलो अग्रता बनायो । कुवेतले ९० मिनेटपछि थपिएको समयमा पनि २ गोल थप्यो । जहाँ थपिएको चौथो मिनेटमा रेडा हानीले टोलीका लागि छैटौं गोल गरे भने सातौं मिनेटमा हुसैन अल–मुसवीले अर्को गोल थपेपछि खेलमा कुवेतले ७–० को फराकिलो जित निकाल्यो ।

यो जितपछि कुवेत ३ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । जोर्डनको खातामा पनि ३ अंक नै भए पनि कुवेत गोलअन्तरमा अघि रहेर शीर्ष स्थानमा छ । पराजित नेपाल सबैभन्दा पुछारमा रहेको छ ।

प्रकाशित मिति September 5, 2019
Loading...