३०० मिलियनबिना नेइमार बेच्ने कुरा सोच्न पनि सकिँदैन : पिएसजी अध्यक्ष

एजेन्सी, भदौ १६
फ्रेन्च क्लब पिएसजीका अध्यक्ष नासिर अल खिलाफीले आफ्ना ब्राजिलियन स्टार नेइमारको न्यूनतम् मूल्य तोकेका छन् । हालै एक कार्यक्रममा बोल्दै खिलाफीले नेइमारले क्लब छाड्न चाहे उनलाई आफूहरूले बेच्ने तर त्यसका लागि न्यूनतम् ३०० मिलियन युरो रकम हुनुपर्ने प्रष्ट पारेका छन् ।

यसै समरमा नेइमारलाई फर्काउन पूर्वक्लब बार्सिलोनाले लामो कसरत गरे पनि अन्ततः यो सरुवा हुन सकेन । पिएसजीले बार्सिलोनाका पटक–पटकका अफर इन्कार गरेपछि बार्सिलोना पछि हटेको हो । यससँगै नेइमार तत्कालाई पिएसजीमै रहने पक्का भइसकेको छ ।

यसअघि बार्सिलोनासँगै नेइमार भित्र्याउन रियल मड्रिडले पनि इच्छा देखाएको थियो । तर, पिएसजीले नेइमारका लागि आएका दुवै क्लबका सबैखाले प्रस्ताव सुहाउँदो नभएको भन्दै अस्वीकार गरेको थियो । सोही विषयमा बोल्दै खिलाफीले नेइमारले क्लब छाड्न चाहे आफूहरूले उचित मूल्यमा बेच्ने तर ३०० मिलियन युरोभन्दा कममा सोच्न पनि नसकिने बताए ।

‘अवश्य पनि, यदि नेइमार यहाँ खुसी छैनन् भने उनी जान सक्छन् । बेखुसी रहेका खेलाडीलाई हामी जबर्जस्ती राख्दैनौं । तर, त्यसका लागि उचित मूल्य हुनुपर्छ,’ खिलाफीले भने, ‘त्यसका लागि कम्तीमा ३०० मिलियनको प्रस्ताव हाम्रो टेबलमा आइपुग्नुपर्छ । यसबाहेकको अंकमा सोच्न पनि सकिँदैन ।’

पिएसजीले नेइमारलाई सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा भित्र्याएको थियो । नेइमारले पिएसजीमा दुई सिजन बिताइसकेका छन् । र, उनी तेस्रो सिजन पनि पिएसजीमै रहने निश्चितप्रायः छ ।

प्रकाशित मिति September 2, 2019
Loading...