रोमाञ्चक खेलमा आर्सनल र टोटनह्याम बराबरीमा रोकिए

काठमाडौं, भदौ १५
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्यामले रोमाञ्चक खेलमा बराबरी खेलेका छन् । आइतबार राति भएको लिगको चौथो साताको खेलमा आर्सनलले ०–२ ले पछि परेको अवस्थामा उल्टाएर खेल २–२ को बराबरीमा टुंगाउन सफल भयो ।

आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा पाहुना टोली टोटनह्यामले खेलको ४०औं मिनेटमा घरेलु टोलीविरुद्ध ०–२ को सहज अग्रता लिएको थियो । उसका लागि खेलको १०औं मिनेटमै क्रिस्टिएन एरिक्सनले गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४०औं मिनेटमा टोटनह्यामले पेनाल्टी पायो । जसमा ह्यारी केनले कुनै गल्ती नगी गोल गरेर आर्सनललाई ०–२ ले पछि पारे । तर, आर्सनलले पहिलो हाफमै गोलअन्तर घटाउन सफल भयो । उसका लागि इन्जुरी समयमा एलेक्सान्ड्रे लाकाजेटले जबर्जस्त सुन्दर गोल गर्दै पहिलो हाफमा खेल १–२ बनाए ।

दोस्रो हाफमा घरेलु टोलीले झन् आक्रामक खेल पस्कियो । अधिकांश समयमा टोटनह्यामको बक्स क्षेत्रमा बल राख्न सफल भएको आर्सनलले खेलको ७१औं मिनेटमा बराबरी गोल फर्कायो । यसपटक अउबामेयाङले बक्सभित्रबाट गोल गर्दै खेल २–२ बनाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बराबरमिा टुंगियो ।

आफ्नो घरमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि उसले विजयी गोल गर्न सकेन । पहिलो हाफभन्दा दोस्रो हाफमा सुधारिएको खेल खेलेको उसले खेल अवधिभर टोटनह्यामको पोस्टमा २६ पटक प्रहार गर्दा टोटनह्यामले ठीक आधा १३ पटक मात्रै प्रहार गर्न सकेको थियो ।

यो बराबरीपछि दुवै टिमले १–१ अंक बाँडेका छन् । चार खेलपछि आर्सनल ७ अंक बनाएर पाँचौं स्थानमा रहेको छ । टोटनह्याम समान खेलबाट ५ अंक बनाएर नवौं स्थानमा । १२ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ भने १० अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

प्रकाशित मिति September 1, 2019
Loading...