अन्तिम समयमा ‘उपहार गोल’ पाएपछि युभेन्टसले नापोलीलाई हरायो

काठमाडौं, भदौ १५
इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टसले भाग्यशाली जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको दोस्रो खेलमा युभेन्टसले पाहुना टोली नापोलीमाथि उपहार गोलको मदतमा ४–३ को जित निकाल्यो । खेलको अन्तिम समयमा उपहार गोल पाएपछि युभेन्टसले आफ्नो घरमा भाग्यको जित निकालेको हो । घरेलु टोली युभेन्टसले खेलको ६२औं मिनेटमा पुग्दा ३–० को स्पष्ट अग्रता लिए पनि ८१औं मिनेटमा खेल ३–३ को अवस्थामा पुगेको थियो ।

सहज जिततर्फ अघि बढेका बेला युभेन्टसले ३–० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुंगिने नजिक पुगेको थियो । तर, अन्तिम समयमा पाएको उपहार गोलले उसलाई ३ अंक जोड्न दियो । युभेन्टसका लागि खेलको १६औं मिनेटमा हालै अनुबन्ध भएका डिफेन्डर ड्यानिलोले टोलीका लागि पहिलो गोल गरेका थिए । त्यसको ३ मिनेटमै गोन्जालो हिगुइनले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ६२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई ३–० को लिड दिए । त्यसबेलासम्म सहज अवस्थामा रहेको युभेन्टसले ३ मिनेटको बीचमा २ गोल खायो । खेलको ६६औं मिनेटमा कोेस्टास मोनालासले गोल गरेर खेल ३–१ मा झार्दा ६८औं मिनेटमा नयाँ खेलाडी हार्भिङ लोजानोले गोल गर्दै खेल ३–२ बनाए । फेरि खेलको ८१औं मिनेटमा नापोलीका लागि जिओभानी डि लोरेन्जोले गोल गर्दै ३–० ले पछि परेको टिमलाई ३–३ मा ल्याए ।

त्यसपछि बराबरीतर्फ अघि बढेको खेलमा अन्तिम समयमा युभेन्टस भाग्यमानी रह्यो । इन्जुरी समयको दोस्रो मिनेटमा नापोलीका डिफेन्डर कालिडोउ कोउलीबालीले फ्रि किकमा आएको बल बक्सभित्र क्लियर गर्न खोज्दा उनको खुट्टामा लाग्दै सहजै पोस्टमा छिरेपछि युभेन्टसले ४–३ को जित निकाल्यो । मिरेलाम पियानिचले हानेको लामो दूरीको फ्रि किक सोझै कोउलीबालीको खुट्टामा लाग्दै पोस्टमा छिरेको थियो ।

यो कठिन जितपछि युभेन्टसले लिगका दुई खेलमा स्पष्ट जित निकालेर अंक तािलकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको बोलोग्नाले दुई खेलबाट ४ अंक जोडेको छ भने एक खेल कम खेलको इन्टर मिलान ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । उसले दोस्रो खेल आइतबार खेल्नेछ ।

प्रकाशित मिति August 31, 2019
Loading...