बुन्डेसलिगा : मेन्जको पोस्टमा बार्यनले हान्यो आधा दर्जन गोल

काठमाडौं, भदौ १४
जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । आज आफ्नो घरेलु मैदानमा भएको लिगको तेस्रो खेलमा बार्यनले पाहुना टोली मेन्जलाई ६–१ को फराकिलो हार चखायो । बार्यनले खेलको छैटौं मिनेटमा गोल खाए पनि त्यसपछि शानदार पुनरागमन गरेर फराकिलो जित निकाल्यो । पाहुना टोली मेन्जका लागि छैटौं मिनेटमा जिन पाउलले पहिलो गोल गरेका थिए । तर, त्यसपछि बार्यनले गोलको वर्षा नै गरिदियो । उसका लागि ६ जना फरक–फरक खेलाडीले गोल गरे । जसमा ३६औं मिनेटमा बेन्जामिन पावार्डले बराबरी गोल गरे ।

त्यसपछि ४५औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै पहिलो हाफमा टिमलाई २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा बार्यनले लगातार ४ गोल हान्यो । जसमा खेलको ५४औं मिनेटमा नयाँ फरवार्ड इभान पेरिसिचले क्लबका लागि पहिलो गोल गरे । उनी हाल मात्रै इटालियन क्लब इन्टर मिलानबाट बार्यन आइपुगेका हुन् । उनको गोलपछि बार्यनले खेलमा ३–१ को सहज अग्रता लिन सफल भएको थियो । त्यसपछि खेलको ६४औं मिनेटमा बार्यनका लागि किङ्स्ली कोमानले चौथो गोल गरे । बायर्न त्यत्तिमै अडिएन । उसका लागि खेलको ७८औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले टोलीका लागि पाँचौं गोल गरे ।

फेरि खेलको ८०औं मिनेटमा अल्फोन्सो डेभिसले गोल गरेपछि खेल बार्यनले ६–१ ले जित्यो । अब यो जितसँगै साबिक विजेता बार्यनले ३ खेलबाट ७ अंक जोडेर लिगको दोस्रो स्थानमा चढेको छ । उसले ३ खेलमा दुई खेल जितेर एक खेल बराबरी गरेको हो । यता, बार्यनसँग पराजित मेन्ज भने ३ वटै खेल हारेर लिगको सबैभन्दा पुछारमा रहेको छ । ३ खेलमा ३ खेल नै जितेको लेपेइज शतप्रतिशत ९ अंकसहित लिगको शीर्ष सथानमा रहेको छ । बार्यन २ अंकले पछि रहेको छ ।

प्रकाशित मिति १४ भाद्र २०७६, शनिबार १५:२८
Loading...