प्रिमियर लिग : १० खेलाडीमा सीमित साउथह्यामपटनसँग युनाइटेड बराबरीमा रोकियो

काठमाडौं, भदौ १४
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शनिबार भएको लिगको चौथो खेलमा युनाइटेड अवे मैदानमा साउथह्यामपटनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा अग्रता लिएर जोगाउन नसक्दा युनाइटेडले महत्त्वपूर्ण २ अंक गुमाउन बाध्य भयो । युनाइटेडका लागि खेलको १०औं मिनेटमै ड्यानिएल जेम्सले निकै दर्शनीय गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । सोही गोलको मदतमा युनाइटेडले पहिलो हाफमा ०–१ को अग्रता बनायो । त्यसबाहेक पनि युनाइटेडले थुप्रै गोलका अवसर बनाएको थियो ।

तर, घरेलु टोली साउथह्यामपटन दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि खेलको ५८औं मिनेटमा जानिंक भेस्टगार्डले गोल गरेर खेल १–१ बनाए । त्यसपछि बाँकी समय र इन्जुरी समयमा समेत दुवै पक्षबाट थप गोल नभएपछि खेल १–१ मा टुंगियो । खेलमा युनाइटेडले पटक–पटक आक्रमण गरे पनि साउथह्यामपटनका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दा उसले खेलमा दोस्रो गोल गर्न सकेन । साउथह्यामपटन खेलेको ७३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । उसका खेलाडी केभिन डान्सो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।

यससँगै युनाइटेडले ४ खेलबाट ५ अंक जोडेको छ । उसले ४ खेलमा एक खेल हारेको छ भने एक खेल जितेर एक २ खेल बराबरी गरेको छ । ऊ यो समाचार बनाउँदासम्म लिगको चौथो स्थानमा छ । साउथह्यामपटन समान खेलबाट ४ अंकसहित १३औं स्थानमा रहेको छ । लिगमा आज राति हुने खेलपछि हालको अंक तालिका फेरबदल हुनेछ ।

प्रकाशित मिति August 31, 2019
Loading...