युइएफए बेस्ट प्लेयरमा भान डाइकलाई शानदार अंक : मेस्सी र रोनाल्डोको कति ?

एजेन्सी, भदौ १३
गत राति मोनाकोमा युइएफएले वर्ष २०१९ का लागि विभिन्न विधामा वर्षका उत्कृष्ट खेलाडीले पाउने अवार्ड प्रदान गर्यो । यसपटक पुरुष फुटबलतर्फ सर्वाधिक चासोसाथ हेरिएको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले जिते ।

उनले स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो अवार्ड जिते । यससँगै उनी सो अवार्ड जित्न पहिलो डिफेन्डरसमेत बनेका छन् ।

यसपटक मुख्य दौडमा भान डाइक र रोनाल्डो रहेका थिए । भान डाइकले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताउन तथा प्रिमियर लिगमा उपविजेता बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए । उनले केही समयअघि युइएफए सुपर कपको उपाधिसमेत जितेका थिए ।

यो अवार्ड घोषणा गर्नेक्रममा विभिन्न विधि र तरिका अपनाइन्छ । जसमा विश्वभरिका पत्रकारदेखि लिएर फुटबल समर्थकको भोटसमेत निर्णायक बन्छ । र, ती सबैबाट प्राप्त भोट तथा अंकका अन्तिम नतिजा घोषणा गरिन्छ ।

यसपटक टप–३ मा विजेता भान डाइकसँगै रोनाल्डो र मेस्सी परेका थिए । कसले कति अंक पाए होलान् ? हेरौं सूची –

भान डाइक – ३०५
मेस्सी – २०७
रोनाल्डो – ७४

यो सूची हेर्दा भान डाइकले मेस्सीलाई ९८ अंकले पछि पार्दै अवार्ड जिते भने उनले रोनाल्डोलाई २३१ अंकले पछि पार्दै अवार्ड जिते । यो युइएफएले सार्वजनिक गरेको अफिसियल तथ्यांक हो ।

प्रकाशित मिति August 30, 2019
Loading...