मिलानको फराकिलो जित : डेब्यु खेलमै लुकाकुको गोल

काठमाडौं, भदौ १०
इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा मिलानले लिसमाथि ४–० को जित निकालेको हो ।

मिलानलाई जिताउन यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट मिलान आइपुगेका बेल्जियन खेलाडी रोमेलु लुकाकुले पनि गोल गरे । स्टेडियो जियोसिप्पी मेज्जा मिलानोमा भएको खेलमा मिलानले खेललाई एकपक्षीयजस्तै बनाएको थियो ।

मिलानका लागि २१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले सुरुआती गरेका थिए । त्यसपछि २४औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि मिलानले २ गोल थप्यो । ६०औं मिनेटमा लुकाकुले गोल गरेर टिमलाई ३–० ले को अग्रता दिलाए । त्यसपछि ८४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले गोल गरेपछि मिलानले ४–० को जित हात पार्न सफल भयो ।

यो जितसँगै मिलानले १ खेलबाट ३ अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमा पनि चढेको छ । लिगको पहिलो खेलमा ८ टिमले स्पष्ट जित निकालेका छन् । साबिक विजेता युभेन्टस ३ अंक भए पनि गोलअन्तरमा पछि परेर सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति August 27, 2019
Loading...