पिएसजीलाई ठूलो झट्का : काभानी र एमबाप्पे दुवै एक महिना मैदानबाहिर

एजेन्सी, भदौ ९
फ्रेन्च क्लब पिएसजीलाई नयाँ सिजनको सुरुमै ठूलो झट्का लागेको छ । टोलीका प्रमुख फरवार्ड केलियन एमबाप्पे र इडिसन काभानी दुवै घाइते भएका छन् । र, उनीहरू दुवै एक महिनासम्म मैदानबाहिर हुनेछन् ।

क्लब पिएसजीले आज अफिसियल रूपमा जानकारी दिँदै एमबाप्पे कम्तीमा चार हप्ता र काभानी तीन हप्तासम्म मैदानबाहिर रहने जनाएको छ ।

दुवैजना गत राति लिगमा आफ्नो घरमा भएको टोलुजविरुद्धको खेल दौरान घाइते भएका थिए । पिएसजीले ४–० ले खेल जिते पनि उसलाई दुई खेलाडीको चोट भने निकै महँगो पर्न गयो ।

जसमा काभानी खेल सुरु भएको १४औं मिनेटमै मैदान छाडेका थिए भने एमबाप्पेले खेलको ६३औं मिनेटमा मैदान छाडेका थिए ।

टोलीमा प्रमुख खेलाडी घाइते भएपछि पिएसजीलाई आगामी खेलमा समस्या पर्ने भएको छ । टोलीमा रहेका ब्राजिलियन नेइमार पनि सरुवा हुन सक्ने खेलाडीको सूचीमा रहेका बेला एमबाप्पे र काभानीको चोटले पिएसजीलाई समस्या बढाएको छ ।

प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार १३:४०
Loading...