लिग वानमा पिएसजीको शानदार जित : एमबाप्पे र काभानी एकसाथ घाइते

काठमाडौं, असार ९
फ्रेन्च क्लब पिएसजीले लिग वान फुटबलमा शानदार जित निकालेको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा पिएसजीले टोलुसोलाई ४–० ले स्तब्ध बनायो ।

स्टार फरवार्डद्वय इडिसन काभानी र केलियन एमबाप्पे दुवै घाइते भएको खेलमा पिएसजीलाई जिताउन इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरे भने १ गोल मार्किनेसले गोल गरे । बाँकी १ गोल उपहारमा पायो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । घरेलु टोली पिएसजीलाई पहिलो हाफमा चोटले समस्या बढायो । काभानी खेलको १४औं मिनेटमा चोट बोक्दै मैदान छाडेका थिए । उनको स्थानमा मैदान छिरेका इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गरेर पिएसजीलाई लिड दिएका थिए ।

त्यसपछि खेलको ५५औं मिनेटमा पिएसजीले उपहार गोल पायो । एन्जल डि मारियाको क्रसमा पाब्लो साराबियाले फ्लिक गरेको बल म्याथ्यु गोन्कालभेसलाई लाग्दै पोस्टमा छिरेपछि पिएसजीले २–० ले अघि रह्यो ।

त्यसपछि खेलको ६३औं मिनेटमा पिएसजीका युवा फरवार्ड एमबाप्पे पनि घाइते भए । उनलाई केहीबेर मैदानमै उपचारपछि मैदानबाट निकालिएको थियो ।

त्यसपछि खेलको ७१औं मिनेटमा डि मारियाले पाएको पेनाल्टी खेर फाले । डि मारियाको प्रहारलाई गोलरक्षक बाप्टिस्टे रेनेटले रोकेका थिए । त्यसपछि खेलको ७५औं मिनेटमा इरिकले व्यक्तिगत दोस्रो गोल गरे ।

फेरि पिएसजीका लागि ७ मिनेट बाँकी छँदा मार्किनेसले गोल गरेपछि पिएसजीले खेल ४–० ले जित्यो । यो जितपछि पिएसजीले ३ खेलबाट ६ अंक बनाएको छ । ऊ तेस्रो स्थानमा चढेको छ । पराजित टोलुसो ४ अंक जोडेर १२औं स्थानमा छ ।

प्रकाशित मिति August 26, 2019
Loading...