फेलिक्सले स्पेनमा मेरोजस्तै सफलता दोहोर्‍याउन सक्छन् : रोनाल्डो

एजेन्सी, भदौ ७
पोर्चुगल तथा हाल युभेन्टसबाट खेलिरहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो देशका युवा खेलाडी जुआओ फेलिक्सको तारिफ गरेका छन् । यसै समरमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका १९ वर्षीय फेलिक्सले स्पेनमा सुरुआती खेलबाट उच्च प्रभाव पारेका छन् ।

एथ्लेटिकोले फेलिक्सलाई पोर्चुगिज क्लब बेनफिकाबाट १२६ मिलियन युरोमा अनुबन्ध गरेको थियो । स्पेन पुगेपछि उनले प्रि–सिजनमा मात्रै ५ खेलबाट ४ गोल गर्दै ३ गोलका लागि असिस्ट गरेका थिए ।

यतिबेला स्पेन मात्रै नभए युरोपियन फुटबलमै फेलिक्सलाई एक उदीयमान स्टार खेलाडीका रूपमा हेरिएको छ । धेरैले उनलाई ‘पोर्चुगलका दोस्रो रोनाल्डो’ भनेर तारिफ गर्ने गरेका छन् ।

पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डोले आफ्ना युवा सहकर्मीको तारिफ गर्दै फेलिक्सले स्पेनमा आफ्नो जस्तै सफलता दोहोर्‍याउन सक्ने बताए ।

‘उनले स्पेनमा मेरोजस्तै सफलता दोहोर्‍याउन सक्छन् । किनभने, उनी निकै क्षमतावान् खेलाडी हुन्, जोसँग प्रशस्तै शैली र ऊर्जा छ,’ रोनाल्डोले भने, ‘उनले करिअरमा प्रशस्तै गोल गर्न सक्छन् ।’

विगतमा ९ वर्ष रियल मड्रिडमा बिताएका रोनाल्डोले रियलका लागि ४३८ खेलबाट ४५० गोल गरेका छन् ।

प्रकाशित मिति August 24, 2019
Loading...