‘खेल्न नपाएपछि’ गोलकिपर नाभासले रियल मड्रिड छाड्दै

एजेन्सी, भदौ ७
स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाइका गोलकिपर केलर नाभासले क्लब छाड्ने भएका छन् । टोलीमा खेल्न नपाउने भएपछि कोस्टारियन नाभासले यसै समरमा क्लब छाड्ने तयारी गरेका हुन् ।

रियल मड्रिड निकट मानिने ‘मार्सा’का अनुसार नाभासले क्लब छाड्न चाहेको भन्दै आफ्नो बिदाको बाटो खोलिदिन क्लबसँग अनुरोध गरेका छन् । र, रियल पनि नाभासलाई बिदा गर्न तयार देखिएको छ ।

हाल ३२ वर्ष पुगेका नाभासलाई फ्रेन्च क्लब पिएसजीले गम्भीरतापूर्वक चासो दिइरहेको छ । नाभासको नयाँ गन्तव्य पिएसजी बन्ने प्रबल सम्भावना छ ।

नाभास सन् २०१४ मा ला लिगाकै क्लब लेभान्टेबाट १० मिलियन युरोमा रियलमा अनुबन्ध भएका थिए । त्यसता उनी टोलीमा पहिलो रोजाइका गोलकिपर बन्दै आएका थिए ।

तर, गत सिजन रियलले इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा भित्र्याएपछि उनको समय कटौती भएको छ । विगतमा फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पहिलो रोजाइमा पर्दै आएका उनी यसपटक पनि बेन्चमै बस्ने देखिन्छ ।

क्लबको योजनाअनुसार जिदानले नाभासरलाई दोस्रो रोजाइमा मात्रै राखेपछि नाभास निराश बनेर क्लब छाड्न लागेका हुन् । रियल मड्रिडले विगतमा एक सिजनअघि लगातार तीन वर्ष युरोपियन च्याम्पियन्स लिग जित्दा नाभासले नै गोल पोस्ट सम्हालेका थिए ।

रियलमा पाँच सिजन बिताउँदै गरेका नाभासले तीनपटक च्याम्पियन्स लिग र एक ला लिगासहित दर्जनौं प्रमुख उपाधि जितेका छन् ।

प्रकाशित मिति August 23, 2019
Loading...