बार्सिलोनाका लिजेन्ड भन्छन्– ‘मेस्सीभन्दा रोनाल्डोसँग खेल्दा नेइमारलाई फाइदा’

एजेन्सी, भदौ ७
ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले आफ्नो देशका स्टार खेलाडी नेइमारले नयाँ सिजन कुन क्लबबाट खेल्दा उचित हुन्छ भन्ने विषयमा बताएका छन् । विगतमा ५ वर्ष बार्सिलोनाबाट खेलेका रिभाल्डोले हालको अवस्थामा नेइमारका लागि बार्सिलोनाका लिओनल मेस्सीभन्दा पनि इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोसँग खेल्दा उचित हुने धारणा राखेका छन् ।

हालै एक अन्तर्वार्तामा कुरा गर्दै रिभाल्डोले नेइमारले मेस्सीसँग भन्दा रोनाल्डोसँग खेल्दा बढी फाइदा हुने बताए । ‘नेइमार बार्सिलोना फर्किंदा क्लबलाई फाइदा हुन्छ । तर, नेइमारलाई खासै उपलब्धि हुने म देख्दिनँ । उनी फेरि पनि मेस्सीको छायाँमा पर्न सक्छन्,’ रिभाल्डोले भने, ‘तर, उनी युभेन्टस गएर रोनाल्डोसँग खेल्दा फाइदा हुन्छ ।’

रिभाल्डोले नेइमार र रोनाल्डो एकपटक एकै क्लबबाट खेलेको हेर्न आफूले चाहेको बताए । ‘नढाँटी भन्दा म रोनाल्डो र नेइमार एकसाथ खेलेको हेर्न चाहन्छु । यसो हुँदा दुवैका लागि फाइदा हुन्छ । रोनाल्डो र नेइमार गोल र असिस्टमा निकै राम्रो गरी साझेदारी गर्न सक्छन्,’ रिभाल्डोले थपे ।

रिभाल्डोले युभेन्टस नयाँ सिजनमा च्याम्पियन्स लिग जित्ने दौडमा रहेको र टिम पनि निकै बलियो रहेको उल्लेख गर्दै नेइमार युभेन्टस गए उनीहरूलाई रोक्न अझै कठिन हुने बताए । ‘यदि नेइमार बार्सिलोना गए भने त्यहाँ उनले च्याम्पियन्स लिग जित्ने सम्भावना जति हुन्छ, त्योभन्दा बढी युभेन्टस जाँदा हुन्छ । किनभने, युभेन्टस अहिले साँच्चै बलियो टिम बनेको छ ।’

प्रकाशित मिति August 23, 2019
Loading...