रियल मड्रिडले युवा स्टार कुबोलाई लोनमा पठायो

एजेन्सी, भदौ ७
स्पेनिस क्लब रियल मड्रिडले यसै सिजन अनुबन्ध गरेका आफ्ना युवा खेलाडी ताकेफुसा कुबोलाई लोनमा ला लिगा क्लब पठाएको छ । अघिल्लो दिन यो सिजन ला लिगामा बढुवा भएको मालोर्साले रियलबाट जापानी खेलाडी कुबोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको घोषणा गरेको हो ।

रियलले यसै सरममा कुबोलाई जापानी क्लबबाट अनुबन्ध गरेको थियो । प्रि–सिजनमा रियलको टोलीमा खेलेका उनले प्रभाव जमाए पनि उनलाई रियलको ‘बी’ टिममा राखिएको थियो ।

तर, नयाँ सिजनमा सिनियर टोलीमा मौका पाउने सम्भावना नरहेपछि क्लबले उनलाई नियमित खेल्न र खेल क्षमता विकासका लागि लोनमा मालोर्सा पठाएको हो ।

हाल १८ वर्ष पुगेका कुबोले एक सिजनमा मालोर्सामा लोनमा बिताएपछि अर्को सिजन पुनः रियल नै फर्किनेछन् ।

प्रकाशित मिति August 23, 2019
Loading...