विकल्प नभई नेइमारको बिदा गरिँदैन : पिएसजी प्रशिक्षक

एजेन्सी, भदौ २
यसै समरमा सरुवा चर्चाको चुलीमा रहेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारको सरुवामा थप संशय बढेको छ । प्रशिक्षक थोमस टुचेलले क्लबमा नेइमारको प्रतिस्थापन टुंगो नलागी उनलाई बिदा गर्ने पक्षमा क्लब नरहेको बताएका छन् ।

पिएसजीले नयाँ सिजनको सुरुआतमा दुई खेल खेलिसकेको । जसमा उले एक खेल जितेको छ भने एक खेल हारेको छ । उसले अघिल्लो राति लिगको दोस्रो खेलमा रेनेजसँग पराजय भोगेको थियो ।

सो खेलअघि मिडियासँग कुरा गर्दै प्रशिक्षक टुचेलले नेइमारको सरुवाबारे फरक धारणा राखे । केही समयअघि भने उनैले नेइमारले ‘अब पिएसजीका लागि नखेल्ने’ बताएका थिए ।

‘नेइमार पेरिस छाडेर जान चाहन्छन्, यो कुरा म र क्लबलाई पनि थाहा छ,’ टुचेलले भने, ‘तर, क्लब उनको विकल्प नभई बिदा गर्ने पक्षमा छैन ।’

२७ वर्षीय नेइमारलाई पूर्वक्लब बार्सिलोना र स्पेनकै रियल मड्रिड भित्र्याउन लागिपरेका छन् । नेइमार सन् २०१७ मा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । सरुवा चर्चामा रहेका नेइमार यतिबेला पिएसजीको प्रशिक्षणमा व्यस्त छन् । तर, उनले प्रि–सिजनदेखि यहाँसम्म आइपुग्दा खेल्न भने पाएका छैनन् ।

प्रकाशित मिति August 19, 2019
Loading...