बार्यन पुगेपछि कोउटिन्होले भने– ‘म यहाँ लामो समयसम्म रहन चाहन्छु’

एजेन्सी, भदौ २
हालै स्पेनिस बार्सिलोनाबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख पुगेका स्टार मिडफिल्डर फिलिपे कोउटिन्होले आफू लामो समय नयाँ क्लबमा रहने इच्छा व्यक्त गरेका छन् । आज बार्यनले २७ वर्षीय कोउटिन्होलाई अफिसियल रूपमा घरेलु रंगशालामा सार्वजनिक गरेको थियो ।

सार्वजनिक भएपछि मिडियासँग बोल्दै ब्राजिलियन खेलाडीले बार्यन आउन पाउँदा पुगेको खुसी व्यक्त मात्रै गरेनन्, लामो समय बार्यनमै रहने इच्छासमेत व्यक्त गरे । ‘म यहाँ आउन पाउँदा निकै खुसी छु,’ कोउटिन्होले भने, ‘म यहाँ लामो समयसम्म रहन चाहन्छु ।’

बार्यनले बार्सिलोनाबाट कोउटिन्होलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । यदि एक सिजनपछि बार्यनले कोउटिन्होलाई खरिद गर्न सकेन वा चाहेन भने कोउटिन्हो पुनः बार्सिलोनै फर्किनेछन् । त्यत्तिबेला बार्यनले कोउटिन्होलाई १२० मिलियन युरोमा किन्न पाउने गरी अहिले नै सम्झौता भएको छ ।

कोउटिन्होले घुमाउरो पारमा बार्सिलोनामा नियमित खेल्न नपाएपछि आफू नियमित खेल्न बार्यन आएको बताए । ‘म यहाँ नियमित मैदानमा रहन र खेल्न आएको हुँ । किनभने, यो मेरो खेल्ने समय हो,’ उनले बार्सिलोनामा खेल्न नपाएको कुरा संकेत गरे ।

कोउटिन्हो बार्सिलोनामा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेका कारण प्रभावकारी बन्न नसकेको कतिपय खेल विश्लेष तथा समर्थकहरू बताउँछन् । उनलाई आफ्नो पोजिसनबाट नखेलाई बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले कोउटिन्होमाथि अन्याय गरेको आरोप लाग्ने गर्छ ।

प्रकाशित मिति August 19, 2019
Loading...