लिग वानमा पिएसीजको अप्रत्यासित हार

काठमाडौं, भदौ २
फ्रेन्च लिग वान फुटबलमा साबिक च्याम्पियन पिएसजीले अप्रत्यासित हार व्यहोरेको छ । गत राति भएको लिगको दोस्रो खेलमा पिएसजी रेनेजसँग २–१ ले स्तब्ध बन्यो ।

रेनेजको घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुआती अग्रता लिएर पनि जोगाउन सकेन । आफ्नो घरमा पिएसजीलाई हराउनेक्रममा रेनेजका लागि एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले १–१ गोल गरे । यता, पराजित पिएसजीका इडिसन काभानीले १ गोल गरे ।

पिएसजीले खेलको ३६औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको थियो । तर, उसको अग्रता धेरैबेर टिकेन । खेलको ४४औं मिनेटमा एमबायले रेनेजका लागि बराबरी गोल फर्काए ।

त्यसपछि दोस्रो हाफमा रेनेजले सुरुमै अग्रता लियो । खेलको ४८औं मिनेटमा रेनेजका लािग रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनेज २–१ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल रेनेजले जित्यो ।

यो हारपछि पिएसजी दुई खेलबाट मात्रै ३ अंक जोडेर लिगको आठौं स्थानमा झरेको छ । विजयी रेनेज ६ अंकसहित तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा लियोन ६ अंकसहित रहेको छ ।

प्रकाशित मिति August 19, 2019
Loading...