सिजनको पहिलो खेलमा बार्यन बल्ल–बल्ल जोगियो हारबाट

काठमाडौं, साउन ३२
जर्मन लिग बुन्डेसलिगाको साबिक च्याम्पियन टिम बार्यन म्युनिख सिजनको पहिलो खेलमै हारबाट मुस्किलले बचेको छ । गत राति भएको लिगको पहिलो खेलमा बार्यन आफ्नै घरेलु मैदानमा हर्था बर्लिनसँग २–२ को बराबरीमा रोकिन बाध्य भयो ।

घरेलु मैदानमा सुरुआताी अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्यनले २–२ को बराबरीमा चित्त बुझायो । बार्यनका लागि २ वटै गोल रोवर्ट लेवान्डोस्कीले गरेका थिए ।

बार्यनका लागि खेलको २४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यसपछि बायर्यनले ३ मिनेटको बीचमा २ गोल खायो । खेलको ३६औं मिनेटमा हर्थाका लागि दुडी लुकेबाकियोले बराबरी गोल गरे ।

त्यसको २ मिनेटपछि नै हर्थाका लागि मार्को ग्रुजिकले गोल गरेपछि हर्थाले बार्यनविरुद्ध १–२ को अग्रता लिएको थियो । तर, खेलको ६०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गरेर खेल २–२ बनए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल २–२ मा टुंगियो ।

खेलमा बार्यनले अधिकांश समय बल पकडमा राखे पनि उसले आफ्नै घरमा विजयी गोल गर्न नसक्दा सिजनको पहिलो खेलबाटै अंक बाँड्न बाध्य यो । अब यो बराबरीसँगै हर्था १ अंकसहित शीर्ष स्थानमा छ भने बार्यन समान १ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति August 17, 2019
Loading...