नेइमारका लागि पिएसजी र बार्सिलोना ‘कीर्तिमानी’ सम्झौता नजिक

एजेन्सी, साउन २८
ब्राजिलियन स्टार नेइमारका लागि स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब पिएसजी ‘विश्वकीर्तिमानी’ डिल नजिक पुगेका छन् । फ्रेन्च र स्पेनिस मिडियाले यो खबरलाई प्रमुखतासाथ छापेका छन् ।

पछिल्ला रिपोर्टहरूअनुसार बार्सिलोनाले आफ्ना पूर्वस्टार नेइमार अनुबन्धका लागि आफ्ना दुई स्टार खेलाडीसहित १०० मिलियन युरो रकम थप्न तयार छ । उसले मिडफिल्डरद्वय ब्राजिलियन फिलिपे कोउटिन्हो र क्रोएसियन इभान राकिटिक पिएसजीलाई दिने गरी प्रस्ताव गरेको छ । त्यसमा उसले १०० मिलियन युरो रकमसमेत थप्नेछ ।

बार्सिलोनाले कोउटिन्होलाई अघिल्लो जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा भित्र्याएको थियो भने राकिटिकलाई सन् २०१४ स्पेनिस सेभिल्लाबाट १८ मिलियनमा भित्र्याएको थियो ।

हालको अवस्थामा बार्सिलोनाले कोउटिन्होका लागि खर्चिएको र राकिटिकका लागि खर्चिएको खरिद रकम मात्रै जोड्दा पनि १७८ मिलियन युरो हुन्छ । त्यसमा १०० मिलियन युरो रकम थप्दा नेइमारको न्यूनतम् मूल्य २७८ मिलियन युरो हुनेछ ।

बार्सिलोनाले नेइमारलाई सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेको थियो । त्यसको २ वर्षपछि उसले उनै नेइमारलाई अर्को विश्व रेकर्ड बनाउँदै अनुबन्ध गर्न लागिपरेको छ ।

रिपोर्टहरूअनुसार पिएसजी र बार्सिलोनाबीच पहिलो चरणको छलफल सकिएको छ । र, अब अन्तिम निर्णय हुन बाँकी छ । शुक्रबार पुनः दुई क्लबका अधिकारीबीच निर्णायक बैठक हुने बताइएको छ ।

प्रकाशित मिति August 13, 2019
Loading...