रोनाल्डोले मेस्सीसँग गरे आफ्नै तुलना : दिए यस्ता तीन जवाफ

एजेन्सी, साउन २८
विश्व फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लिओनल मेस्सीमा को उत्कृष्ट भन्नेमा लामो समयदेखि तुलना हुँदै आएको छ । विभिन्न व्यक्तिहरूले उनीहरूलाई उत्कृष्ट साबित गर्न आ–आफ्नै ढंगले तर्क गर्ने गर्छन् ।

रोनाल्डो र मेस्सीका समर्थकहरूले आ–आफ्ना खेलाडीलाई उत्कृष्ट देखाउन कुनै कसर बाँकी राख्दैनन् । तर, मेस्सी र रोनाल्डो स्वयंले भने यसबारे कमै मात्र बोल्ने गर्छन् । रोनाल्डो र मेस्सीले एकअर्काबारे बोल्दा एकले अर्कोलाई सधैं उच्च सम्मान दिने गर्छन् ।

हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डोले हालै एक अन्तर्वार्तामा बोल्दै स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीसँगको आफ्नो प्रतिस्पर्धाबारे बोलेका छन् । सोक्रममा उनले मेस्सी विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक रहेको भन्दै तारिफ गरेका छन् । त्यत्ति मात्रै हैन, उनले मेस्सीसँग आफ्ना समानता र असमानताबारे पनि बोलेका छन् ।

आफ्नो करिअर दौरान रोनाल्डोले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालिलन सिरी ‘ए’ गरी तीन फरक फरक लिगबाट घरेलु लिग उपाधि जितेका छन् । उनले म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट गरी पाँचपटक च्याम्पियन्स लिग जितेका छन् । तर, मेस्सी भने लगातार बार्सिलोनामै छन् । उनले चारपटक च्याम्पियन्स लिग जितेका छन् । रोनाल्डो र मेस्सी दुवैले समान पाँच–पाँचपटक बालोन डि‘ओर जितेका छने ।

हाल युभेन्टसबाट खेलिरहेका रोनाल्डोले हालै एक अन्तर्वार्तामा बोल्दै आफ्ना खास प्रतिस्पर्धी मेस्सीबारे बोलेका हुन् । मेस्सी र आफ्नो विषयमा उनले दिएका तीन जवाफ–

‘मेस्सी एक उत्कृष्ट र शानदार खेलाडी हुन्, जसलाई बालोन डि‘ओर विजेता खेलाडीका रूपमा मात्रै मानिसले सम्झिँदैनन् । आजभन्दा भोलि झन् राम्रो गर्दै जाने खेलाडीका रूपमा पनि उनको सम्झना गरिनेछ, मजस्तै ।’

‘मेस्सी र मबीचको फरक यो हो कि– मैले करिअरमा फरक–फरक क्लबबाट खेलेको छु । र, ती क्लबबाट सबै उपाधि जितेको छु । मैले फरक–फरक क्लबाट च्याम्पियन्स लिग जितेको छु, जुन मेस्सीसँग छैन ।’

‘च्याम्पियन्स लिगमा म लगातार ६ सिजन सर्वाधिक गोलकर्ता बनें । यस्ता धरै खेलाडी छैनन्, जसले पाँचपटक च्याम्पियन्स लिग जितेका छन् । त्यसैले मलाई लागछ कि, यो प्रतियोगिता सबैका लागि विशेष हुन्छ ।’

प्रकाशित मिति August 13, 2019
Loading...