रोनाल्डोले यसरी गरे जिदानको तारिफ

एजेन्सी, साउन २८
एक वर्षअघि स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्ना पूर्वप्रशिक्षक जिनेदिन जिदानको तारिफ गरेका छन् । रोनाल्डो र जिदानले रियल १७ दिनको बीचमा छाडेका थिए ।

रोनाल्डो र जिदानकै उत्कृष्ट नेतृत्वमा रियलले यसअघि लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिग जितेको थियो । रियलमा रहँदा जिदानसँग रोनाल्डोको निकै सुमधुर सम्बन्ध रहेको थियो ।

हाल रोनाल्डो युभेन्टसबाट खेलिरहेका छन् भने जिदान पुनः रियल मड्रिडको प्रशिक्षक बनेर फर्किएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोले रियमका छँदा जिदानसँगको सम्बन्धबारे बोलेका छन् ।

‘एक खेलाडीलाई आवश्यक आत्मविश्वास स्वयं ऊबाट मात्रै आउँदैन । यसमा कोचको पनि उत्तिकै भूमिका हुन्छ । अझ खेलाडीसमेत रहेको कोचबाट यो धेरै अपेक्षा हुन्छ,’ रोनाल्डोले भने, ‘जिदानबाट मैले यी सबै कुरा पाएँ । उनी साँच्चै एक ठूला कोच हुन् ।’

रोनाल्डोले रियलमा छँदा जिदानले आफूलाई व्यक्तिगत रूपमा पनि सहयोग गरेको बताए । ‘मड्रिडमा उनले मलाई धेरै सहयोग गरे । उनका लागि मसँग धेरै ठूलो सम्मान छ । उनीसँग काम गर्दा म निकै प्रभावित थिएँ । किनभने, उनको काम गर्ने तरिका, कुरा गर्ने तरिका र खेलाडीसँगको सम्बन्ध सबै कुरा उत्कृष्ट थियो,’ रोनाल्डोले थपे ।

रोनाल्डोले यो बताएका छन् कि, जिदानले उनलाई व्यक्तिगत रूपमा कुरा गरेर पनि आत्मविश्वास दिलाउँथे । ‘क्रिस, रिल्याक्स । मैदानमा जाऊ र तिमी आफ्नो खेल खेल । मलाई विश्वास छ, तिमीले खेललाई सधैं फरक बनाउँछौं,’ रोनाल्डोले जिदानले आफूलाई भन्ने गरेको कुरा सम्झिए ।

रोनाल्डोले जिदान आफ्नो करिअरमा रहेका उत्कृष्टमध्येका एक कोच रहेको पनि बताए । ‘मैले करिअरमा केही उत्कृष्ट कोचसँग काम गरेको छु, त्यसमध्ये जिदान एक हुन्,’ रोनाल्डोले थपे ।

रोनाल्डो सन् २००९ मा रियलमा अनुबन्ध भएर २०१८ मा युभेन्टस पुगेका थिए । उनले रियलका लागि ४३८ खेलबाट कूल ४५० गोल गरे । उनी रियलको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

प्रकाशित मिति August 13, 2019
Loading...