रियल मड्रिडको बाटोमा मेस्सी तगारो : नेइमारलाई पठाए यस्तो सन्देश

एजेन्सी, साउन २८
स्पेनिस बार्सिलोनाले पूर्वस्टार नेइमार फर्काउन आज फ्रेन्च क्लब पिएसजीसँग निर्णायक छलफल गर्ने तयारी गरेको खबर छ । फ्रान्स र स्पेन दुवै देशका मिडियाले दुई क्लबबीच औपचारिक बैठक गर्ने तयारी रहेको खबर छापेका छन् ।

बार्सिलोना सन् २०१७ मा आफैंले विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेका नेइमार फर्काउन लागिपरेको छ । तर, यसैबेला बार्सिलोनाको खास प्रतिस्पर्धी रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि नेइमार भित्र्याउन लागेका छन् ।

यसैबीच, बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पूर्वसहकर्मी नेइमारलाई एक गोप्य सन्देश पठाएका छन् । स्पेनिस पत्रिका ‘मार्सा’ले यो खबर प्रमुखतासाथ छापेको छ ।

मेस्सीले नेइमारलाई टेलिफोन गरेर उनलाई रियल मड्रिडको प्रस्ताव अस्वीकार गर्न सुझाव दिएका छन् । त्यत्ति मात्रै हैन, मेस्सीले नेइमारलाई पुनः क्याम्प नोउ फर्किनसमेत अनुरोध गरेका छन् ।

मेस्सीले विगतका तितामिठा भुलेर पुरानो घर फर्किन नेइमारसँग अनुरोध गरेको बताइएको छ । यसअघि नेइमारले पनि मेस्सीलाई सम्पर्क गरी बार्सिलोना फर्किन सहयोग गर्न अनुरोध गरेको खबर बाहिरिएको थियो ।

प्रकाशित मिति August 13, 2019
Loading...