एक ‘युवा स्टार’सहित दुई खेलाडी बेच्दै बार्सिलोना

एजेन्सी, साउन २७
यस समर सिजनमा व्यस्त रहेको स्पेनिनस बार्सिलोना सरुवा सिजन सकिनुअघि दुई युवा खेलाडी बेच्ने नजिक पुगेको छ । उसले गत सिजन लामो समय चोटबाट गुज्रिएका ब्राजिलियन मिडफिल्डर राफिन्हा र ‘बी’ टिमका एक युवा स्टार मिडफिल्डरलाई बिदा गर्न लागेको छ ।

२६ वर्षीय राफिन्हासँगै बार्सिलोनाले रिकुई पुइगलाई पनि यसै समरमा बिदा गर्न लागेको छ । जसमा उसले राफिन्हालाई स्थायी रूपमै बेच्ने करिब पक्काजस्तै भएको छ भने पुइगलाई एक सिजनका लागि लोनमा बाहिर पाउन लागेको छ ।

राफिन्हा स्पेनकै भ्यालेन्सिया जाने तयारी छ । अहिले बार्सिलोना र भ्यालेन्सियाबीच राफिन्हाको विषयमा छलफल चलिरहेको छ । राफिन्हा पनि ला लिगा क्लब जान तयार छन् ।

यता, प्रि–सिजनमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्नो टोलीमा प्रशस्तै समय दिएका ‘बी’ टिमका १९ वर्षीय युवा मिडफिल्डर पुइगलाई नियमित खेल्न पाउन् भनेर लोनमा पठाउन लागिएको छ । बार्सिलोनामा पुईगले सिनियर टिमबाट नियमित खेल्न नपाउने अवस्था बनेपछि भाल्भर्डेले उनको स्तर वृद्धिका लागि पनि लोनमा अन्यत्रै पठाउन क्लबलाई सुझाव दिएका छन् । पुइग निकै क्षमतावान् युवा खेलाडी हुन् ।

बार्सिलोनाको मिडफिल्डमा खेलाडीको भीड भएकाले क्लब केही खेलाडी कटौती गर्ने कसरतमा छ । राफिन्हा र पुइगबाहेक पनि क्लबले चिलियन मिडफिल्डर अर्टुरो भिडाल, ब्राजिलियन फिलिपे कोउटिन्हो र क्रोएसियन इभान राकिटिकमध्ये कम्तीमा एक जनालाई बिदा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति August 12, 2019
Loading...