बालोन डि‘ओरका लागि नयाँ सर्वेक्षण : को कति नम्बरमा ?

एजेन्सी, साउन २७
चर्चित खेल संस्था ‘गोल’ ले सन् २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओरका लागि कसले जित्न सक्छ भनेर एक सर्वेक्षण गरेका छ । उसले आफ्ना पाठक तथा फुटबल समर्थकहरूलाई समेटेर अनलाइन भोटिङमार्फत् मत संकलन गरेको छ ।

जसमा भोटिङ गर्नेमध्ये बहुमत समर्थकहरूले इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई बालोन डि‘ओर जित्न सक्ने सबैभन्दा दाबेदार खेलाडीका रूपमा छानेका छन् । भान डाइकले गत सिजन लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

दोस्रो नम्बरमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी छन् । समर्थकहरूले उनलाई भान डाइकपछि दोस्रो दाबेदार मानेका छन् । मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गर्दै ला लिगा जिताउन योगदान दिएका थिए ।

तेस्रो नम्बरमा लिभरपुल तथा ब्राजिलका गोलरक्षक एलिसन बेकर छन् । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग तथा गत महिना ब्राजिललाई कोपा अमेरिका जिताउन योगदान दिएका उनलाई समर्थकहरूले बालोन डि‘ओरका लागि तेस्रो दाबेदार मानेका छन् ।

चौथो नम्बरमा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । उनले गत सिजन युभेन्टसलाई दुई उपाधि तथा पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि जिताउन योगदान दिएका थिए । टप–५ को ५ नम्बरमा लिभरपुल तथा इजिप्टका मोहमद सालाह छन् ।

प्रकाशित मिति August 12, 2019
Loading...