जब मैदानमा फ्यानहरूले नेइमारविरुद्ध नाराबाजी सुरु गरे ……

एजेन्सी, साउन २७
यसै समरमा क्लब छाड्ने चर्चामा रहेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन नेइमारविरुद्ध फ्यानहरूले नाराबाजी गरेका छन् । लिग वानअन्तर्गत गत राति सिजनको पहिलो खेल पिएसजीले खेलिरहँदा फ्यानहरूले नेइमारविरुद्ध नाराबाजी गर्दै ‘क्लब छाडेर जान’ मागसमेत गरे ।

गत राति पिएसजीले आफ्नो घरमा निमेजविरुद्ध सिजनको पहिलो खेल खेल्यो । पिएसजी ३–० ले विजयी भएको सो खेलमा नेइमारलाई भने टोलीमै राखिएको थिएन ।

तर, सिजनको पहिलो खेल हेर्न रंगशाला पुगेका पिएसजीका फ्यानहरूले नेइमारलाई क्लब छाडेर चेतावनी दिँदै नाराबाजी गरे । पिएसजी र निमेजको खेल चलिरहँदा समर्थकहरूले ‘नेइमार क्लब छाडेर जाऊँ’ भन्दै लगातार नाराबाजी गरेका थिए । उनीहरूले नेइमारविरुद्ध नारा लेखिएको ब्यानरसमेत खेल अवधिभरि प्रदर्शन गरेका थिए ।

नेइमार पिएसजी छाडेर पूर्वक्लब बार्सिलोना वा स्पेनकै रियल मड्रिडमध्ये एक क्लबमा जाने चर्चा छ । नेइमारलाई पिएसजीले सन् २०१७ मा बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति August 12, 2019
Loading...