प्रि सिजनको हारबाट हामी निराश छैनौं, नयाँ सिजन शानदार बनाउँछौं : जिदान

एजेन्सी, साउन २७
स्पेनिस रियल मड्रिडका लागि यसपटक प्रि–सिजन क्लब इतिहासमा ५३ वर्ष यताकै सबैभन्दा खराब रह्यो । यसपटक उसले कूल ७ खेल खेलेकोमा मात्रै दुई खेल जित्यो । तैपनि, प्रशिक्षक जिनेदिन जिन जिदान भने मैत्रीपूर्ण खेलका हारले रियलको योजना र उद्देश्यमा फरक नपर्ने बताउँछन् ।

गत राति इटालीमा रोमासँग पराजित भएपछि प्रि–सिजनमा रियलले चौथो खेलमा पराजित भोग्यो । पेनाल्टीमा रियल ५–४ ले पराजित भएको थियो । सो खेलपछि मिडियासँग बोल्दै जिदानले आफ्नो टोलीको बचाउ गरे । ‘प्रि–सिजन हामीले सोचेजस्तो बनाउन सकेनौं । तर, मसँग राम्रा खेलाडीको टिम छ । खेल र उपाधि जित्न सबै खेलाडी प्रयोग गर्न सक्छु,’ जिदानले भने, ‘हामी प्रि–सिजनका खेल र नतिजाबाट खुसी छैनौं तर विचलित पनि छैनौं ।’

जिदानले नयाँ सिजन आफूहरूले राम्रो गर्ने दाबीसमेत गरे । ‘अब हामी नयाँ सिजनमा प्रवेश गर्दैछौं । मलाई विश्वास छ, हामी ला लिगामा राम्रो सुरुआत गर्नेछौं । हामी प्रि–सिजनका दिन बिर्सने गरी नयाँ सिजनमा नतिजा निकाल्नेछौं ।’

जिदानले नयाँ सिजनमा आफूहरूका लागि सबै उपाधि लक्ष्य रहने बताए । ‘नयाँ सिनजमा सबै प्रतियोगिता र उपाधि हाम्रो लक्ष्य हुनेछ,’ उनले थपे ।

प्रकाशित मिति August 12, 2019
Loading...