रियल मड्रिडको अर्को हार : पेनाल्टीमा रोमासँग पराजित

काठमाडौं, साउन २७
क्लब मैत्रीपूर्ण खेलमा स्पेनिस रियल मड्रिड अर्को हारको सिकार भएको छ । गत राति इटालियन क्लब रोमासँग भएको खेलमा रियल ५–४ ले पराजित भयो ।

प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेल खेल्न इटाली पुगेको रियलले खेलमा दुईपटक अग्रता लिएर जोगाउन नसक्दा हार भोग्नु परेको हो । निर्धारित ९० मिनेटमा खेल २–२ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टी सुट आउटमा रियलका लागि मार्सेलो चुकेपछि खेल रोमाले जितयो । सुरुआती चार पेनाल्टीमा टोनी क्रुस, इस्को, ग्यारेथ बेल र लुका मोड्रिकले गोल गरे पनि पाँचौं पेनाल्टीमा मार्सेलो चुके । उनको प्रहार बारमा लाग्दै बाहिरिएको थियो । यता, रोामाका लागि भने ५ जना सबैले गोल गर्न सफल भएपछि खेल रोमाले ५–४ ले जित्यो ।

त्यसअघि निर्धारित ९० मिनेटमा खेल २–२ मा टुंगियो । रियलका लागि १६औं मिनेटमा मार्सेलोले आकर्षक गोल गरेका थिए । तर, ३४औं मिनेटमा रोमाका लागि डिएगो पेरोट्टीले गोल गर्दै खेल १–१ बनाए ।

लगत्तै ३९औं मिनेटमा रियलका लागि कासेमिरोले गोल गर्दै टोलीलाई अग्रता दलाए पनि लगत्तै अर्को मिनेटमै रोमाका लाग इडेन जेकोले गोल गर्दै खेल २–२ बनाए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

प्रकाशित मिति August 12, 2019
Loading...