प्रिमियर लिगमा युनाइटेडको शानदार सुरुआत : चेल्सीको लज्जास्पद हार !

काठमाडौं, साउन २६
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । आइतबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेडले पाहुना टोली चेल्सीलाई ४–० को नमिठो हार चखायो ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जिताउन मार्कुस रासफोर्डले २ गोल गर्दा यसै खेलबाट सिनियर टोलीबाट डेब्यु गरेका ड्यानिएल जेम्सले पनि गोलको खाता खोले ।

युनाइटेडका लागि खेलको १८औं मिनेटमा रासफोर्डले पेनाल्टीबाट गोल गरे । चेल्सीका खेलाडीले बक्समा फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टीको मौका दिएका थिए । जसमा रासफोर्डले कुनै गल्ती गरेनन् ।

त्यसपछि खेलको ६५औं मिनेटमा युनाइटेडका लागि एन्थोनी मार्सियालले गोल गरे । सो गोलमा पाउल पोग्बाले निकै आकर्षक पास मिलाएका थिए । सो गोलपछि युनाइटेड २–० को अग्रतासहित जिततर्फ अघि बढेको थियो ।

त्यसपछि खेलको ६७औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे । फेरि खेलको ८१औं मिनेटमा ड्यानिएल जेम्सले गोल गरेपछि खेल युनाइटेडले ४–० ले जित्यो ।

स्टार खेलाडी इडेन हाजार्डले क्बल छाडेपछिको पहिलो अफिसियल खेलमा चेल्सीले लज्जास्पद हार व्यहोर्दा युनाइटेडले भने पहिलो खेलमै शानदार नतिजा निकालेको छ । युनाइटेड यो खेलबाट स्पष्ट ३ अंक बटुलेर लिगको दोस्रो स्थानमा रहेको छ । समान अंक भएको म्यानचेस्टर सिटी गोलअन्तरमा अघि रहेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति August 11, 2019
Loading...