मेस्सीको चोट र मैदान फर्किने समयबारे प्रशिक्षक यसो भन्छन्

एजेन्सी, साउन २६
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्ना कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीको चोटबारे जानकारी गराएका छन् । आज बिहान अमेरिकामा इटालियन क्लब नापोलीलाई ४–० ले हराएपछि पत्रकार सम्मेलनमा भाग लिँदै भाल्भर्डेले मेस्सीको चोटको अवस्था सुधारोन्मुख भए पनि उनले लिगको पहिलो खेल्ने सम्भावना निकै कम रहेको बताए ।

मेस्सी हाल रिकभरी अभ्यासमा व्यस्त रहे पनि उनले ला लिगाको पहिलो खेल खेल्ने सम्भावना आफूले नदेखको बताए । ‘म यो निकै कठिन देख्दैछु । मलाई लाग्दैन कि, ला लिगाको उद्घाटन खेल खेल्न उनी पूर्ण रूपमा फिट हुनेछन्,’ पत्रकारले सोधको प्रश्नमा भाल्भर्डले भने ।

भाल्भर्डेले आफूले मेस्सीमाथि जोखिम नमोल्ने बताए । ‘म मेस्सीलाई जोखिमबीच खेलाउन चाहन्नँ । उनी शतप्रशित फिट नहुँदासम्म म उनलाई पर्खिनेछु,’ भाल्भर्डेले भने ।

मेस्सी अघिल्लो साता बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किएकै दिन घाइते भएका थिए । उनको दायाँ खुट्टाको पिडुलामा चोट परेको छ । मेस्सी हाल क्लबका फिजियसको टोलीसँग रिकभरी अभ्यास गरिरहेका छन् ।

बार्सिलोनाले अगस्ट १६ मा यो सिजनको पहिलो खेल अवे मैदानमा एथ्लेटिक क्लबसँग खेल्दैछ । मेस्सी सो खेलमा खेल्ने सम्भावना न्यून रहेको छ ।

प्रकाशित मिति August 11, 2019
Loading...