अन्तिम समयमा केन चम्किँदा प्रिमियर लिगमा टोटनह्यामको विजयी सुरुआत

काठमाडौं, साउन २६
अन्तिम समयमा स्टार फरवार्ड हयारी केन चम्किएपछि टोटनह्यामले प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा पाहुना टोली एस्टन भिल्लालाई ३–१ ले निराश बनायो ।

यसै सिजन शीर्ष डिजिभनमा उक्लिएको भिल्लाले सुरुआती अग्रता लिएर अन्तिम समयमा जोगाउन नसक्दा हार भोग्यो । उसका लागि खेलको नवौं मिनेटमै जोन म्यागिनले गोल गरेका थिए ।
भिल्लाले सोही गोलको मदतमा खेलको ७२औं मिनेटसम्म अग्रता जोगायो । तर, त्यसपछि उसले लगतार ३ गोल खायो । ७३औं मिनेटमा टोटनह्यामका लागि ट्याङ्गाई डोम्बेलेले बराबरी गोल गरे ।

त्यसपछि खेलको ८६औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिए । पहिलो गोल गरेको ४ मिनेटमै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल टोटनह्यामले ३–१ ले जित्यो ।

यो जितपछि टोटनह्यामले पहिलो खेलबाट स्पष्ट ३ अंक बटुलेर लिगमा सुखद् सुरुआत गरेको छ । ऊ ३ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

शनिबारै भएका अन्य खेलहरूमा क्रिस्टल प्यालेस र एभर्टन गोलरहित बराबरीमा रोकिए । अर्को खेलमा बर्नलीले साउथह्यामपटनलाई ३–० ले हरायो । अर्को खेलमा ब्राइटनले वाटफोर्डले ३–० ले स्तब्ध बनाउँदा अर्को खेलमा बोर्नेमाउथ र सेफ युनाइटेडले १–१ को बराबरी खेले ।

प्रकाशित मिति August 10, 2019
Loading...