प्रिमियर लिगमा सिटीको शानदार सुरुआत : पहिलो खेलमै स्टर्लिङले हाने ह्याट्रिक !

काठमाडौं, साउन २५
साबिक च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजनको सुरुआत शानदार जितबाट गरेको छ । आज भएको सिजनको पहिलो खेलमा सिटीले वेस्ट ह्याममाथि ०–५ को फराकिलो जित निकाल्यो ।

अवे मैदानमा सिटीलाई फराकिलो जित दिलाउन स्टार फरवार्ड रहिम स्टर्लिङले पहिलो खेलमै ह्याट्रिक हाने । बाँकी २ गोलमा एक ग्याब्रिएल जेसस र एक गोल सर्जियो अगुएरोले पेनाल्टीबाट गरे ।

सिटीका लागि खेलको २५औं मिनेटमा जेससले पहिलो गोल गरेका थिए । उनकै गोलको मदतमा सिटीले पहिलो हाफमा ०–१ को अग्रता बनायो । तर, दोस्रो हाफमा उसले ४ गोल थप्यो ।

स्टर्लिङले ३ वटै गोल दोस्रो हाफमा गरेका थिए । उनले खेलको ५१औं, ७५औं र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक हाने ।

यता, अगुएरोले खेलको ८६औं मिनेटमा पेनाल्टीबाट १ गोल गरे । बक्सभित्र सिटीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले सिटीलाई भिएरआबाट पेनाल्टीको मौका दिएका थिए । जहाँ अगुएरोको पहिलो पेनाल्टी वेस्ट ह्यामका गोलकिपरले रोके ।

तर, सो पेनाल्टीलाई नियमसंगत नरहेको भन्दै रेफ्रीले सिटीलाई पुनः दोस्रोपटक पेनाल्टी हान्न दिए । दोस्रोपटक भने अगुएरोले गल्ती नगरी गोल गरेका थिए ।

यससँगै सिटीले पहिलो खेलबाटै क्लिन सिटसहितको जित निकालेर शीर्ष स्थान लिन सफल भएको छ । उसले लिभरपुललाई पछि पारेर शीर्ष स्थान लिएको हो । सिटी र लिभरपुलको समान ३–३ अंक भए पनि सिटी गोलअन्तरमा अघि छ ।

प्रकाशित मिति August 10, 2019
Loading...