आज एथ्लेटिको मड्रिड र युभेन्टसको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, साउन २५
प्रि–सिजनका रूपमा खेलाइएको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा आज अन्तिम खेल हुँदैछ । जहाँ युरोपका दुई ठूला टिम इटालियन युभेन्टस र स्पेनिस एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार राति ठीक ९ः५० बजेबाट सुरु हुनेछ ।

यो खेल स्वीडेनमा हुनेछ । दुवै टिम अघिल्लो दिन नै स्वीडेन उत्रिसकेका छन् । गत सिजन च्याम्पियन्स लिगमा समेत भिडेका यी दुईको खेल प्रतीक्षाको खेल बनेको छ ।

गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा यी दुई टिम अन्तिमपटक खेलेका थिए । जहाँ एथ्लेटिकोले पहिलो लेग आफ्नो घरमा २–० ले जितेको थियो । तर, आफ्नो घरमा भएको दोस्रो लेगमा युभेन्टसले ३–० को सनसनीपूर्ण जित निकालेको थियो । सो खेलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रोमाञ्चक ह्याट्रिक गरेका थिए ।

आज यी दुई टोली भिड्दा त सिजनकै खेलको झल्को आउनेछ । यसअघि एथ्लेटिकोले स्पेनिस रियल मड्रिडलाई ७–३ को फराकिलो हार चखाएको थियो । आज रियलका पूर्वखेलाडी रोनाल्डोको टिम युभेन्टसविरुद्ध उत्रिँदा पनि एथ्लेटिको जितको कहानी लेख्ने दाउमा हुनेछ ।

प्रकाशित मिति August 10, 2019
Loading...