पिकेले यसरी सम्झिए लिभरपुलसँगको त्यो ‘नमिठो हार’

एजेन्सी, साउन २५
स्पेनिस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले युरोपियन च्याम्पियन्स लिगमा गत सिजन भोगेको पराजयको स्मरण गरेका छन् । बार्सिलोना सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस टिम लिभरपुलसँग ४–० ले पराजित भएको थियो ।

आफ्नो घर क्याम्प नोउमा बार्सिलोनाले पहिलो लेगमा ३–० को शानदार जित निकाले पनि लिभरपुलको घरमा भएको दोस्रो लेगमा बार्सिलोना ४–० को नमिठो हारको सिकार भएपछि ऊ लगातार चौथो वर्ष पनि च्याम्पियन्सको फाइनल नपुगी आउट भएको थियो ।

हाल टोलीसँगै अमेरिका टुरमा रहेका पिकेले गत सिजन लिभरपुलसँगको हार बिर्सनलायक र ज्यादै पीडादायक भए पनि त्यसले आफूहरूलाई थप ऊर्जा थपेको बताएका छन् । ‘एनफिल्डमा जे भयो, त्यो हाम्रो कल्पनाभन्दा बाहिरको थियो । हामीले त्यस्तो हारको कल्पनासम्म गरेका थिएनौं,’ पिकेले भने, ‘हाम्रो क्लबको इतिहासमा त्यो सबैभन्दा पीडादायी हारको दिन थियो । तर, त्यसले हामीलाई ऊर्जा पनि थपेको छ ।’

उनले अघि थपे, ‘हामीले घरमा ३–० ले जितेर अवे मैदानमा ४–० ले किन हार्यौं ? यसको उत्तर मसँग छैन । सायद कसैसँग छैन । न कप्तान, न प्रशिक्षक । त्यो हामीलाई लज्जास्पद बनाउने नतिजा थियो, जुन हामी कहिल्यै सम्झिन चाहँदैनौं । तर, सम्झिराख्नुपर्छ । कुरा गरिराख्नुपर्छ ।’

पिकेले लिभरपुलविरुद्ध हार्दा आफूहरूले एकदमै केटाकेटीले जस्तो खेलेको पनि बताए । ‘म अहिले पनि भन्छु, त्यो दिन हाम्रो खेल केटाकेटीको जस्तो थियो । हामीले ४ मा ३ गोल आफ्नै गल्तीले खायौं । चौथो गोल हामीले किन खायौं ? म अहिले पनि आफैंलाई सोध्छु । तर, मसँग जवाफ छैन ।’

पिकेले बार्सिलोनाका लागि च्याम्पियन्स लिग सधैं विशेष हुने भए पनि पछिल्ला चार सिजन यो प्रतियोगिता जित्न नसक्दा खल्लो लागेको बताए । ‘हामी विश्वकै एक उत्कृष्ट क्लब हौं । हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन् । तर, हामीले युरोपको ठूलो प्रतियोगिता जित्न नसकेको चार वर्ष भयो,’ पिकेले थपे, ‘जब कि, पछिल्ला चार वर्षमा तीन वर्ष मड्रिड (रियल मड्रिड) ले जित्यो । हाम्रा लागि यो निकै पीडादायक हो । किनभने, च्याम्पियन्स लिग युरोपको सबैभन्दा उत्कृष्ट क्लब र उत्कृष्ट खेलाडी मापन गर्ने प्रतियोगिता हो । यो प्रतियोगिता सबै क्लब हरेक सिजन जित्न चाहन्छन् ।’

प्रकाशित मिति August 10, 2019
Loading...