रोनाल्डोलाई उछिन्दै मेस्सीले जिते ‘युइएफए गोल अफ् द सिजन’को अवार्ड

एजेन्सी, साउन २४
युरोपियन च्याम्पियन्स लिग सिजन २०१८–१९ को ‘युइएफए गोल अफ् द सिजन’को अवार्ड स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले जितेका छन् । गत सिजन मेस्सीले इंग्लिस क्लब लिभरपुलविरुद्ध सेमिफाइनलमा गरेको दर्शनीय र चर्चित फ्रि किक गोललाई समर्थकहरूले अनलाइन भोटिङबाट सिजनकै सर्वोत्कृष्ट गोलका रूपमा छानेका हुन् ।

गत सिजन सेमिफाइनलअन्तर्गत बार्सिलोनाको घर क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा मेस्सीले लिभरपुलवविरुद्ध दर्शनीय फ्रि किक गोल गरेका थिए । उनले गत सिजन प्रतियोगिताकै सर्वोत्कृष्ट गोलकिपर घोषित भएका ब्राजिलिनय गोलकिपर एलिसन बेकरविरुद्ध सो गोल गरेका थिए ।

मेस्सीले २ गोल गरेको सो खेल बार्सिलोनाले ३–० ले शानदार ढंगले जितेको थियो । अर्को १ गोल लुइस स्वारेजले गरेका थिए । सो खेलमा भएका ३ वटै गोलको चर्चा अहिले पनि हुन्छ । जसमा मेस्सीको फ्रि किक गोलको तारिफ विश्वभरिबाट भएको थियो ।

यसपटक ‘गोल अफ् दि सिजन’का लागि मेस्सीसँगै इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाकै इभान राकिटिकसहित १० जना मनोनयनमा परेका थिए । जसमा मेस्सीले आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।

यसअघि युइएफएले भने रोनाल्डोले समूह चरणमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको वान टच दर्शनीय भली गोललाई सर्वोत्कृष्ट घोषित गरेको थियो । तर, समर्थकहरूले भने रोनाल्डोको गोललाई छाडेर मेस्सीको चर्चित फ्रि किक गोललाई गोल अफ् द सिजनका रूपमा छानेका हुन् ।

गत सिजन मेस्सीले सो गोलरेको खेल बार्सिलोनाले ३–० ले जिते पनि लिभरपुलको घरमा दोस्रो लेगमा बार्सिलोना ४–० लज्जास्पद हारको सिकार भएको थियो । पहिलो लेगको फराकिलो अग्रता दोस्रो लेगमा जोगाउन नसक्दा बार्सिलोना अप्रत्यासित रूपमा सेमिफाइनलबाटै आउट भएको थियो ।

गत सिजन लिभरपुलले सेमिमा बार्सिलोना तथा फाइनलमा लिग प्रतिस्पर्धी क्लब टोटनह्यामलाई हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति August 9, 2019
Loading...