नापोलीमाथि बार्सिलोनाको संघर्षपूर्ण जित : राकिटिक बने नायक !

काठमाडौं, साउन २३
प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि संघर्षपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार आज बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाले २–१ को जित निकालेको हो । बार्सिलोनाको जितमा क्रोएसियन मिडफिल्डर इभान राकिटिक नायक बने ।

अमेरिकाको मियामीस्थित हार्ड रक रंगशालामा भएको खेलमा बार्सिलोनाले ३८औं मिनेटमा सर्जियो बुस्केट्सको गोलबाट अग्रता लिएको थियो । तर, बार्सिलोनाको सो अग्रता धेरैबेर रहन सकेन ।

गोल गरेको ४ मिनेटपछि नै बार्सिलोनाले आत्मघाती गोल खायो । बक्सभित्र नापोलीका खेलाडीले हानेको प्रहार बार्सिलोनाका डिफेन्डर सामुएल उम्टिटीलाई लाग्दै पोस्टमा छिरेपछि पहिलो हाफ १–१ मा टुंगियो ।

तर, दोस्रो हाफमा बार्सिलोनाले विजयी गोल हान्यो । इभान राकिटिकले खेलको ७९औं मिनेटमा बक्सको लाइनबाट हानेको बुलेट प्रहारले सोझै जाली चुमेपछि खेलमा बार्सिलोनाले २–१ को अग्रता लियो ।

त्यसपछि बाँकी समयमा नापोलीले गोल गर्न सकेन । र, खेल बार्सिलोनाले २–१ ले जित्यो । अब बार्सिलोना र नापोलबीच दोस्रो खेल ३ दिनपछि हुनेछ ।

प्रकाशित मिति August 8, 2019
Loading...