यस्ता छन् नयाँ सिजनमा च्याम्पियन्स लिग जित्ने मेस्सीका योजना

एजेन्सी, साउन २०
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नयाँ सिजनमा युरोपियन च्याम्पियन्स लिग जित्न सक्ने सम्भावना र योजनाबारे धारणा राखेका छन् । गत राति क्याम्प नोउमा मैत्रीपूर्ण ग्याम्पर ट्रफीका लागि इंग्लिस क्लब आर्सनलसँग खेल्नुअघि घरेलु दर्शकमाझ भाषणा गरेका मेस्सीले विगतको सिजन र नयाँ सिजनबारे बोले ।

सोक्रममा उनले विगत सिजनका निरााश भुलेर नयाँ सिजनको तयारीमा लाग्ने बताउँदै यसपटक च्याम्पियन्स लिगमा मुख्य ध्यान रहने बताएका छन् । गत सिजन इंग्लिस क्लब लिभरपुलसँग सेमिफाइनलमा व्यहोरेको नमिठो हारको स्मरण गर्दै उनले नयाँ सिजनमा आफ्नो टिममाथि पूर्ण विश्वास रहेको बताए ।

‘गत सिजन के भयो त्यो भन्न ज्यादै कठिन छ । तर, मलाई कुनै पछुतो छैन । म अहिले यति मात्रै दोहोर्याउन चाहन्छु कि, गत सिजन मैले आजकै दिन यही ठाउँमा उभिएर जे भनेको थिएँ,’ मेस्सीले भने ।

मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा असोचनीय हार व्यहोर्नु निकै पीडादायी रहेको बतााए । ‘त्यो हार म सम्झिन चाहन्नँ, जुन हामीले कल्पनै गरेका थिएनौं,’ मेस्सीले भने, ‘हामी नयाँ सिजनमा केन्द्रित हुन चाहन्छौं ।’

मेस्सीले हालको टोलीले तयाँ सिजनमा च्याम्पियन्स लिग जित्न सक्ने पनि बताए । ‘मलाई यो टोली, खेलाडी र कोचिङ स्टाफमाथि पूर्ण विश्वास छ,’ मेस्सीले थपे, ‘हामीसँग नयाँ सिजनका लागि केही योजना र तयारी छन् । हामी यही टोलीको योगदानमा यसपटक ठूला उपाधि जित्न प्रयास गर्नेछौं ।’

गत सिजन बार्सिलोनाले घरेलु लिग ला लिगा मात्रै जितेको थियो भने युरोेपियन च्याम्पियन्स लिगमा अन्तिम चारबाट आउट भएको थियो । ऊ कोपा डेल रे कपको फाइनलमा हारेको थियो ।

प्रकाशित मिति August 5, 2019
Loading...