मेस्सीलाई म्याराडोनाको साथ : आलोचकहरूलाई दिए यस्तो जवाफ !

एजेन्सी, साउन १९
विगतमा पटक–पटक आफ्नो देशको राष्ट्रिय टोलीका कप्तान लिओनल मेस्सीको आलोचना गर्दै आएका लिजेन्ड डिएगो म्याराडोनाले यसपटक मेस्सीको पक्षमा अभिव्यक्ति दिएका छन् । अघिल्लो महिना ब्राजिलमा कोपा अमेरिका खेल दौरान विवाद र आलोचनामा तानिएका कप्तान मेस्सीको पक्षमा बोल्दै म्याराडोनाले आफूलाई मेस्सीको बदलिँदो स्वभाव मन परेको बताएका छन् ।

गत महिना कोपा अमेरिका फुटलब दौरान मेस्सीले सेमिफाइनलमा ब्राजिलविरुद्धको खेलपछि रेफ्रीको आलोचना गरेका थिए । अर्जेन्टिना २–० ले हारेको सो खेलमा मेस्सीले रेफ्रीले ब्राजिलको पक्षमा निर्णय लिएको आरोप लगाउँदै रिसाएका थिए ।

त्यसपछि तेस्रो स्थानका लागि चिलीविरुद्धको खेलमा मेस्सी रातो कार्ड खाँदै बाहिरिएका थिए । सो खेलपछि मेस्सीले कोपा आयोजक भ्रष्ट संस्था भएको आरोप लगाउँदै तेस्रो स्थानका लागि जितेको मेडल लिनसमेत इन्कार गरेका थिए ।

हालै म्याराडोनाले अर्जेन्टिनी मिडिया ‘टिआईसी स्पोर्टस्’सँगको कुराकानीक्रममा मेस्सीको बारेमा पनि बोले । सोक्रममा उनले पछिल्लोपटक मेस्सीले देखाएको ‘विरोधको स्वभाव’ आफूलाई मन परेको बताए । उनले मेस्सी पनि आफ्नै बाटोमा देखिएको समेत बताए ।

‘मेस्सी अहिले मजस्तै देखिएका छन्, म्याराडोना शैलीको,’ कुराकानीक्रममा म्याराडोनाले भने, ‘पछिल्लोपटक मैले उनलाई अझै कडा स्वभावमा देखें, यस्तो पहिला देखेको थिइनँ । उनले खेल दौरान मैदानमा जे अनुभूत गरे, त्यही बोले ।’

कोपा अमेरिकामा अर्जेन्टिनी उपाधिविहीन बने पनि आफूलाई मेस्सी झन् मन पर्न थालेको बताए । ‘मलाई मेस्सी झन् मन पर्न थालेको छ । एक कप्तानमा हुनुपर्ने गुण उनले अहिले देखाउन थालेका छन्,’ म्याराडोनाले भने ।

म्याराडोनाले अघि थपे, ‘ब्राजिलमा मेस्सीले देखाएको व्यवहारबारे धेरै चर्चा भयो । उनी प्रतिबन्धमा समेत छन् । तर, यतिबेला मलाई उनका आलोचकहरूको आलोचना गर्न मन लागिरहेको छ । कप्तानले टिमका लागि सही ठाउँमा बोल्नुपर्छ, सही कुरामा फरक मत राख्न सक्नुपर्छ ।’

गत वर्ष म्याराडोनाले मेस्सीसँग क्लब र देश दुवैका लागि कप्तानी गर्ने अलिकति पनि खुबी नभएको भन्दै ‘उनी नर्भस भएर खेलअघि २० पटक बाथरुम जाने कप्तान’ भनेर कडा आलोचना गरेका थिए ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १४:४४
Loading...