युभेन्टसका ‘गोल्डेन ब्वाई’लाई एभर्टनले भित्र्यायो

एजेन्सी, साउन १९
इटालियन क्लब युभेन्टसले ‘गोल्डेन ब्वाई’ भनेर चिनिने आफ्ना युवा खेलाडी मोइसे किनलाई इंग्लिस क्लबलाई बेचेको छ । आज एभर्टनले १९ वर्षीय इटालियन स्टार फरवार्डलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

गत सिजन युभेन्टसका लागि कम खेलबाट प्रभावशाली प्रदर्शन गरेका किनका लागि एभर्टनले मात्रै ३० मिलियन पाउन्ड सरुवा फी तिरेको छ । किन १० वर्षको छँदै युभेन्टसमा अनुबन्ध भएका थिए ।

युवा फरवार्ड किनले एभर्टनसँग आगामी ५ वर्षका लागि सम्झौता गरेका छन् । एभर्टनमा अनुबन्धपछि किनले आफू नियमित खेल्न इंग्लिस क्लबमा जान राजी भएको बताएका छन् ।

किनले गत वर्ष युभेन्टसका लागि घरेलु लिगमा १३ खेल खेल्दै ६ गोल गरेका थिए । उनले अधिकांश खेल बेन्चबाट सुरु गरेका थिए ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १२:३७
Loading...