को हुन् बार्सिलोनाले भित्र्याएका नयाँ लेफ्ट ब्याक ?

एजेन्सी, साउन १९
पछिल्लो समय फरवार्ड र मिडफिल्डर भित्र्याउन व्यस्त रहेको स्पेनिस बार्सिलोनाले डिफेन्डर भित्र्याएको छ । उसले आज अफिसियल रूपमा लिग प्रतिस्पर्धी क्लब रियल बेटिसका लेफ्ट ब्याक जुनियर फिर्पो अनुबन्ध गरेको घोषणा गरेको हो ।

बार्सिलोनाले स्पेनिस युवा खेलाडी अनुबन्धका लागि बेटिसलाई मात्रै १८ मिलियन युरो सरुवा फी तिरेको छ । दुई क्लबबीच खेलाडी किनबचमा सहमतिपछि आज दुवै क्लबले घोषणा गरेका हुन् । जुनियरले बार्सिलोनासँग आगामी ५ वर्षका लागि सम्झौता गरेका छन् । क्लबले उनको रिलिज क्लज २०० मिलियन युरो तोकेको छ ।

केही समयअघि युरो कप यु–२१ मा स्पेनले उपाधि जित्दा जुनियर टोलीका सदस्य थिए । र, उनले प्रभावशाली प्रदर्शन गरेका थिए । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने जुनियर आक्रमक खेल शैलीका खेलाडी हुन् । यो उनको तथ्यांकबाट पनि प्रष्ट हुन्छ ।

गत सिजन बेटिसबाट उनले ला लिगामा कूल २४ खेल खेलेका थिए । त्यसक्रममा उनले ३ गोल गर्दै ४ गोलका लागि असिस्ट गरेका थिए । गत सिजन उनले बेटिसका लागि सबैखाले प्रतियोगितामा २९ खेल खेलेका थिए ।

जुनियरको अनुबन्धपछि बार्सिलोनामा रक्षापंक्ति सम्हाल्ने नयाँ उत्तराधिकारी उपलब्ध भएका छन् । पछिल्ला सिजन रक्षापंक्तिमा ठूलै समस्या भोगिरहेको बार्सिलोनाका लागि जुनियर प्रभावकारी विकल्प हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १२:१६
Loading...