सिटीका खेलाडी ‘फिफाको मनोनयनमा नपरेपछि’ ग्वार्डिओलाको कडा व्यंग्य !

एजेन्सी, साउन १९
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विश्व फुटबलको सर्वोच्च संस्था फिफाप्रति असन्तुष्टि जाहेर गरेका छन् । आफ्नो क्लब म्यानचेस्टर सिटीका खेलाडी फिफाको ‘द बेस्ट अवार्ड’को मनोनयनमा नपरेकोमा उनले प्रश्न गरेका हुन् ।

फिफाले केही दिनअघि मात्रै वर्ष २०१९ का लागि टप–१० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । तर, सो सूचीमा सिटीका कुनै पनि खेलाडी परेनन् । सिटीले गत सिजन प्रिमियर लिगसहित एफए कप र कारबाओ कपको उपाधि जिते पनि आफ्नो खेलाडी मनोनयनमा नपर्दा ग्वार्डिओलाले चर्को असन्तुष्टि जनाए ।

सो सूचीमा इंग्लिस क्लबबाट टोटनह्यामका ह्यारी केन तथा लिभरपुलका भर्जिल भान डाइक, साडियो माने र मोहमद सालाहले स्थान बनाएका छन् । बाँकी अन्य लिगबाट छन् ।

एफए कम्युनिटी सिल्ड फुटबलमा युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ग्वार्डिओलाले फिफाप्रति कडा व्यंग्य हाने । ‘अर्को सिजन ५–६ वटा उपाधि जित्नुपर्छ । कि त लिगमा २५० अंक ल्याउन सक्यो भने मेरा खेलाडी पनि मनोनयनमा पर्छन् होला,’ ग्यार्डिओलाले व्यंग्य हाने ।

उनले अघि थपे, ‘यो अवार्ड च्याम्पियन्स लिगमा गरेको प्रदर्शनका आधारमा दिइन्छ । अरू प्रतियोगिताले कुनै महत्त्व नराख्ने देखियो । हामी पनि कुनै दिन यो प्रतियोगिता जितौंला ।’

गत सिजन सिटीले कम्युनिटी सिल्डको उपाधिसमेत जिते पनि च्याम्पियन्स लिगबाट भने अन्तिम आठबाटै आउट भएको थियो ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार ०९:४९
Loading...