नेइमारका लागि बार्सिलोना ‘निर्णायक’ र ‘अफिसियल’ प्रस्ताव गर्दै : मूल्य कति ?

एजेन्सी, साउन १९
स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वखेलाडी ब्राजिलियन नेइमारलाई क्याम्प नोउ फर्काउन फ्रेन्च क्लब पिएसजीसँग बल्ल निर्णायक र अफिसियल प्रस्ताव गर्ने तयारी गरेको छ । ‘गोल’मा प्रकाशित विशेष रिपोर्टअनुसार बार्सिलोनाले सरुवा सिजन बन्द हुन केही दिन मात्रै बाँकी छँदा नेइमार सरुवाका लागि छलफल सुरु गर्ने भएको हो ।

बार्सिलोनाले केही दिनमै नेइमार अनुबन्धका लागि पिएसजीसँग प्रस्ताव पठाउने तयारी गरेको बताइएको छ । दुई वर्षअघि आफैंले विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेका नेइमारलाई बार्सिलोनाले कम्तीमा एक स्टार खेलाडी दिएर रकम थप्ने गरी प्रस्ताव गर्ने तयारी गरेको छ ।

बार्सिलोनाको प्रस्तावमा ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो, फ्रेन्च विंगर उसामान डेम्बेले र क्रोएसियन मिडफिल्डर इभान राकिटिकमध्ये एक रहने सम्भावना प्रबल छ । त्यसमा पनि बार्सिलोनाले आफूले डेढ वर्षअघि १६० मिलियन युरोमा किनेका कोउटिन्होलाई नेइमार फर्काउने डिलमा मिसाउने पहिलो प्रयास रहनेछ । बार्सिलोनाले खेलाडीको मूल्यांकन र रकमसहित गरी कम्तीमा २५० मिलियन युरो सम्मको प्रस्ताव गर्ने सक्ने बताइएको छ ।

नेइमार फर्काउन बार्सिलोनाले कोउटिन्होलाई मुख्य आधार बनाउन चाहेको चर्चा सुरुबाटै छ । यसअघि बार्सिलोनाले पिएसजीसँग अनौपचारिक रूपमा गरेको छलफलक्रममा पनि खेलाडीसमेतको डिल गर्न भनेको थियो । तर, त्यसबेला पिएसजीले नेइमारबाट आफूले नगदै चाहेको सन्देश दिएको थियो ।

हाल नेइमार पिएसजीको भ्रमण टोलीमा त सहभागी छन् । तर, उनी खेलेका छैनन् । उनी टोलीमा नपर्नुले पिएसजीले पनि नेइमारलाई बिदा गर्न चाहेको बुझ्न सकिन्छ । किनभने, नेइमार पेरिस छाडेर स्पेन फर्किन चाहन्छन् भन्ने कुरा पिएसजीलाई राम्रोसँग थाहा छ ।

यसअघि पिएसजीले बार्सिलोनालाई नेइमार अनुबन्धका लागि अगस्ट ९ सम्मको समयसीमा दिएको रिपोर्ट बाहिरिएको थियो । पिएसजीले यदि बार्सिलोना नेइमार अनुबन्ध गर्न चाहन्छ भने लिग वान सुरु हुनुभन्दा अघि नै प्रक्रिया थाल्नुपर्ने बताएको छ । लिग वान अगस्ट ९ बाट सुरु हुँदैछ ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार ०३:५४
Loading...