एसी मिलानलाई युनाइटेडले पेनाल्टीमा हरायो

काठमाडौं, साउन १९
प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलका रूपमा खेलाइएको इन्टरनेसनल च्याम्पियनस कप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई हराएको छ । गत राति भएको खेलमा युनाइटेडले मिलानलाई पेनाल्टीमा ५–४ ले हराएको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरमिा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलको १४औं मिनेटमा युनाइटेडका लागि मार्कुस रासफोर्डले निकै आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २६औं मिनेटमा मिलानले बराबरी गोल फर्कायो । सो गोल सुसोले गरेका थिए । तर, खेलको ६०औं मिनेटमा युनाइटेडका भिक्टोर लिन्डेलोफले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा मिलानले अग्रता लिएको थियो ।

तर, त्यसपछि खेलको ७२औं मिनेटमा युनाइटेडका लागि जेस्से लिंगार्डले गोल गरेपछि खेल २–२ मा टुंगियो ।

त्यसपछि पेनाल्टी सुटआउटमा युनाइटेडका ५ जनाले नै गोल गर्न सफल हुँदा मिलानका ड्यानिएल माल्डिनी चुकेपछि खेल युनाइटेडले ५–४ ले जित्यो ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार ०२:००
Loading...