पिएसजीले जित्यो सुपर कपको उपाधि, डि मारिया बने ‘हिरो’ !

एजेन्सी, साउन १८
फ्रेन्च क्लब पिएसजीले वर्ष २०१९ को फ्रेन्च सुपर कपको उपाधि जितेको छ । नेपाली समयअनुसार शनिबार बेलुका चीनमा भएको फाइनल खेलमा पिएसजीले लिग प्रतिस्पर्धी क्लब रेनेजलाई २–१ ले हराएर उपाधि पोल्टामा पारेको हो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पिएसजीले पछि परेको स्थितिमा नतिजा उल्टाएर खेल जितेको हो । पिएसजीको जितमा केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे ।

रेनेजले खेलको १३औं मिनेटमा गोल गरेर पिएसजीविरुद्ध अग्रता लिएको थियो । उसका लागि आड्रेन होनोऊले गोल गरेका थिए । उनकै गोलको मदतमा रेनेजले पहिलो हाफमा १–० को अग्रता बनायो ।

तर, दोस्रो हाफमा पिएसजी खेलमा फर्कियो । ५७औं मिनेटमा बक्सभित्र केलियन एमबाप्पेले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि विजयी गोलको खोजीमा रहेको पिएसजीका लागि डि मारिया नायक बने ।

उनले करिब २५ यार्ड दूरीबाट हानेको फ्रि किक प्रहारले दर्शनीय रूपमा सोझै जाली चुमेपछि पिएसजीले खेलमा २–१ को अग्रता लियो । बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल पिएसजीले २–१ ले जित्यो ।

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार १४:१९
Loading...