मेस्सीमाथि प्रतिबन्ध लागेपछि अर्जेन्टिनी फुटबल संघको यस्तो तयारी

एजेन्सी, साउन १८
अघिल्लो दिन दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सीलाई ३ महिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने फैसला सुनायो । साथै, मेस्सीले ५० हजार अमेरिकी डलरसमेत आर्थिक जरिमानाका रूपमा तिर्नुपर्ने हुन्छ ।

गत महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटबल दौरान चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका मेस्सीले खेलपछि ‘आयोजक भ्रष्ट संस्था भएको’ आरोप लगाउँदै कडा आलोचना गरेका थिए । सोही मुद्दामा महासंघले मेस्सीमाथि यस्तो कारबाही गरेको हो ।

आफ्ना प्रमुख खेलाडी तथा टोलीका कप्तान लामो प्रतिबन्धसँगै आर्थिक जरिमानामा परेपछि अर्जेन्टिनी फुटबल संघले प्रतिबन्ध फुकुवा वा घटाउन महासंघलाई अपिल गर्ने तयारी गरेको छ । अर्जेन्टिनी मिडिया ‘टिवाईसी स्पोर्टस्’का अनुसार संघले अहिले सो विषयमा छलफल गरिरहेको छ ।

नियमअनुसार संघले कारबाहीको फैसला भएको ७ दिन भित्रमा अपिल गरिसक्नुपर्ने हुन्छ । तसर्थ, अब संघसँग ६ दिनका समय बाँकी छ ।

खबरअुसार संघले प्रतिबन्ध फुकुवाका लागि अपिल गर्नुअघि मेस्सीसँग सल्लाह गर्नेछ । यदि अपिल गर्न मेस्सी राजी भए मात्रै संघले अफिसियल रूपमा अपिल गर्नेछ । यो खेलाडीमाथिको मात्रै प्रतिबन्ध भएकाले अपिलका लागि खेलाडीको निर्णय मुख्य हुन्छ ।

यो बताइएको छ कि, मेस्सीमाथि तीन मैत्रीपूर्ण खेलमा मात्रै प्रतिबन्ध लागेकाले संघले गम्भीरतापूर्वक अपिलको विषयलाई लिएको छैन । मैत्रीपूर्ण खेलमा मेस्सी नखेले पनि कुनै फरक नपर्ने हुँदा सो समय मेस्सीका लागि आराम गर्न उचित समय हुने संघले ठानेको छ ।

मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जर्मनविरुद्धका ती मैत्रीपूर्ण खेल गुमाउनेछन् ।

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार १२:५८
Loading...