‘मेस्सीको स्थान लिन सक्ने नेइमारजत्तिको अरू छैनन्’

एजेन्सी, साउन १८
ब्राजिलियन नेइमार दुई वर्षअघि आजकै दिन बार्सिलोना छाडेर विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी गएका थिए । फ्रान्समा दुई सिजन बिताइसकेका २७ वर्षीय नेइमार अहिले बार्सिलोना फर्किने चर्चा छ ।

सरुवा बजार सकिन केही दिन मात्रै बाँकी छँदासम्म पनि नेइमारको सरुवा चर्चा छँदैछ । अझै पनि दुई क्लब नेइमारका लागि केही न केही तयारी गरिरहेकै छन् ।

यसैबीच, ब्राजिलका लिजेन्ड खेलाडी इडमिल्सनले बार्सिलोनामा ३२ वर्ष पुगेका मेस्सीको स्थान लिन सक्ने नेइमार एकदमै योग्य खेलाडी भएको बताएका छन् । ‘गोल’सँग कुरा गर्दै हाल ४३ वर्ष पुगेका उनले अर्जेन्टिनी मेस्सी चाँडै बार्सिलोनामा मुख्य भूमिकाबाट पछि हट्ने हुँदा नेइमार बार्सिलोना फर्किए खेलाडी र क्लब दुवैलाई फाइदा हुने बताए ।

‘यो प्रष्ट छ कि, बार्सिलोना अहिले मेस्सीको सन्यासबारे सोचिरहको छ । उनी ३२ वर्षका भए । र, उनी विश्वको टप क्लबमा फरवार्डका रूपमा अब सक्रिय रूपमा धेरै समय खेल्न सक्दैनन्, यो कुरा मेस्सीलाई राम्रोसँग थाहा छ । उनीसँग अब बढीमा दुई वर्ष हो,’ इडमिल्सनले भनेका छन्, ‘यदि नेइमार भित्र्याए बार्सिलोनाको नेतृत्व चार वा पाँच वर्ष उनैले गर्नेछन् । उनले मेस्सीको अभाव हुन दिनेछैनन् ।’

इडमिल्सनले नेइमार ठूला खेलाडी भएको पनि बताए । ‘नेइमार एक ठूला र स्टार खेलाडी हुन् । उनीसँग फुटबलको शानदार कौशल छ । तर, उनले व्यक्त गर्न सही ठाउँ भएन,’ उनले थपे ।

इडमिल्सनले नेइमारका पछिल्ला दुई सिजन चोटका कारण सामान्य मात्रै रहेको बताए । ‘पिएसजी गएपछि उनका दुई वर्ष चोटका कारण सामान्य मात्रै रहे । अन्तर्राष्ट्रिय प्रतियोगिता पनि उनका लागि त्यस्तै रहे,’ इडमिल्सनले थपे ।

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार १०:५१
Loading...