बार्सिलोनाका यी स्टार खेलाडीले गुमाउँदैछन् आर्सनलविरुद्धको खेल

एजेन्सी, साउन १८
भोलि (आइतबार) स्पेनिस बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नाउमा इंग्लिस टोली आर्सनलसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बार्सिलोनाले वार्षिक रूपमा मैत्रीपूर्ण प्रतियोगिताका रूपमा खेलाउने ग्याम्पर ट्रफी खेल्न यसपटक इंग्लिस टोलीलाई स्वागत गरिएको छ ।

नयाँ सिजन सुरु हुन दुई साता बाँकी छँदा बार्सिलोना उपाधिका लागि खेल्ने सो खेलमा टोलीका केही प्रमुख खेलाडीहरू हुनेछैनन् । स्पेनिस मिडियाका अनुसार सो खेलमा कप्तान लिओनल मेस्सी, मिडफिल्डर अर्टुरो भिडाल र फिलिपे कोउटिन्हो अनुपस्थित रहनेछन् ।

यी ३ जनै खेलाडी शुक्रबारसम्म पनि प्रशिक्षणमा क्याम्पमा सहभागी भएनन् । उनीहरूले गत महिना मात्रै अन्तर्राष्ट्रिय खेल खेलेकाले प्रशिक्षणमा फर्किन केही ढिलाइ गरेका हुन् ।

शुक्रबारसम्म पनि मेस्सी, भिडाल र कोउटिन्हो टोलीसँगै प्रशिक्षणमा सहभागी नभएपछि उनीहरूले घरमा हुने सो खेल नखेल्ने लगभग पक्का छ । उनीहरू ३ जनाले नै बिदाबाट फर्किएर मेडिकल जाँचसमेत गराउन बाँकी छ ।

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०६:५२
Loading...