‘बालोन डि‘ओर रोनाल्डो र मेस्सी हैन, एलिसनले जित्छन्’

एजेन्सी, साउन १८
सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई मुख्य दाबेदार मानिएको छ । तर, ब्राजिलियन म्यानेजर ड्यानिएल पाभानले भने आफ्नो देशका गोलकिपर एलिसन बेकरले यसपटक बालोन डि‘ओर जित्ने बताएका छन् ।

हालै एक अन्तर्वार्तामा बाल्दै उनले यसपटक प्रदर्शन र उपलब्धि दुवैका हिसाबले पनि एलिसन सबैभन्दा सही व्यक्ति भएको बताएका छन् । ‘मलाई थाहा छ, यो अवार्ड व्यक्तिगत प्रदर्शन र सफलतालाई दिइन्छ । त्यसैले यो वर्ष एलिसनका लागि हो । गत सिजन उनले क्लब र यस वर्ष देशका लागि के गरे, त्यो सबै स्प्ष्ट छ,’ पाभानले भने ।

विगतमा ब्राजिलियन क्लबमा छँदा एलिसनलाई प्रशिक्षणसमेत गरेका पाभानले यसपटक चर्चा भएजस्तो रोनाल्डो, मेस्सीले या अवार्ड नजित्ने बताए । ‘मेरो विचारमा यसपटक रोनाल्डो वा मेस्सी दुवै यो उपाधिका हकदार छैनन्, जति एलिसन छन्,’ पाभानले भने, ‘उनको प्रतिस्पर्धा भर्जिलसँग हुनेछ ।’

पाभानले यो बताएका छन् कि, गत सिजन एलिसनले लिभरपुलबाट च्याम्पियन्स लिग र ब्राजिलबाट कोपा अमेरिका जितेकाले उनले बालोन डि‘ओर जित्नुपर्छ । ‘बालोन डि‘ओर जित्न एलिसनले जति गरेका छन्, त्यत्ति मेस्सी वा रोनाल्डोले गरेका छैनन्,’ उनले थपे ।

यदि पाभानले भनेजस्तै यसपटक एलिसनले बालोन डि‘ओर जिते उनी सन् १९६३ पछि बालोन डिओर जित्ने पहिलो गोलकिपर बन्नेछन् ।

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०६:१८
Loading...