काठमाडौं, साउन १८
इंग्लिस डिफेन्डर ह्यारी मागुइरे लेस्टर सिटी छाडेर म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुने पक्का भएको छ । लेस्टरले आफ्ना प्रमुख डिफेन्डरलाई कीर्तिमानी रकममा ओल्ड ट्राफोर्ड पठाउन सहमत भएको हो ।
इंग्ल्यान्डका सेन्टर डिफेन्डर मागुइरेका लागि युनाइटेडले लेस्टरलाई ८० मिलियन पाउन्ड सरुवा शुल्क तिर्नेछ । गत वर्ष मागुइरेले लेस्टरसँग ५ वर्षका लागि सम्झौता गरेका थिए ।
मागुइरे यसै साता ओल्ड ट्राफोर्ड मेडिकल जाँचका लागि जानेछन् । मेडिकल जाँच पास भएपछि मात्रै उनको बाँकी सरुवा प्रक्रिया अघि बढ्नेछ । युनाइटेडले डिफेन्डरका लागि विश्वकीर्तिमानी रकम खर्चिएको हो । अब मागुइरे विश्वकै सबैभन्दा महँगा डिफेन्डर बनेका छन् ।
यसअघि लिभरपुलले लिग प्रतिस्पर्धी साउथह्यामपनबाट डच डिफेन्डर भर्जिल भान डाइकलाई ७५ मिलियन पाउन्ड खर्चिएको थियो । यो मागुइरेलाई युनाइटेडले खर्चिएको भन्दा ५ मिलियन पाउन्ड कमी हो ।
यससँगै मागुइरे प्रि–सिजनमा युनाइटेड आउने तेस्रो खेलाडी बनेका छन् । ओले गुनरको नेतृत्वमा युनाइेडले यसअघि आरोन वान बिसाका र डेनियल जेम्सलाई ओल्ड ट्राफोर्डमा उतारिसकेको छ ।
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०३:४१