एजेन्सी, साउन १७
चर्चित फुटबल पत्रिका ‘४४२’ ले पछिल्ला २५ वर्षको अवधिका १०१ सर्वोत्कृष्ट फुटबल खेलाडीको सूची सार्वजनिक गरेको छ । सो पत्रिकाले सो अवधिका सर्वोत्कृष्ट खेलाडीको सूची आज सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी सबैभन्दा पहिलो नम्बरमा परेका छन् । सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका ३२ वर्षीय मेस्सीले हालसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसके पनि उनी १०१ सर्वोत्कृष्ट खेलाडीको सूचीको पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।
सो पत्रिकाले २५ वर्षको अवधिका खेलाडीको खेल जीवन, सफलता र विभिन्न तथ्यांकलाई आधार मानेर यस्तो सूची बनाएको हो ।
सूचीको दोस्रो नम्बरमा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । चारपटक युरोपियन च्याम्पियन्स लिग तथा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जितेका ३४ वर्षीय रोनाल्डो आफ्ना खास प्रतिस्पर्धी मेस्सीभन्दा पछि छन् ।
तेस्रो नम्बरमा फ्रेन्च खेलाडी जिनेदिन जिदान छन् । हाल स्पेनिस रियल मड्रिडका प्रमुख प्रशिक्षक रहेका जिदानले आफ्नो करिअरमा युरोपका ठूला उपाधिसँगै विश्वकपसमेत जितेका छन् ।
यस्तो टप–२० को सूची :
- लिओनल मेस्सी (अर्जेन्टिना)
- क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
- जिनेदिन जिदान (फ्रान्स)
- रोनाल्डो (ब्राजिल)
- रोनाल्डिन्हो (ब्राजिल)
- थिएरी हेनरी (फ्रान्स)
- जाभी (स्पेन)
- आन्द्रेस इनिएस्टा (स्पेन)
- पाओलो माल्दानी (इटाली)
- रोवेर्टो बागजियो (इटाली)
- रिभाल्डो (ब्राजिल)
- फाबियो कानभारो (इटाली)
- रायन गिग्स (वेल्स)
- काका (ब्राजिल)
- वायने रुनी (इंग्ल्यान्ड)
- लुइस फिगो (पोर्चुगल)
- ग्याब्रिएल बाटिस्टुटा (अर्जेन्टिना)
- इरिक क्यानटोना (फ्रान्स)
- लुका मोड्रिक (क्रोएसिया)
- सर्जियो बुस्केट्स (स्पेन)